Logo

२०८०, आश्विन ९ गते मंगलवार

२०८०, आश्विन ९ गते मंगलवार

images
images

नन्दी रात्री विद्यालयबाट राजनीतिमा उदाएका नेता रामचन्द्र पौडेल जो राष्ट्रपति बने

नन्दी रात्री विद्यालयबाट राजनीतिमा उदाएका नेता रामचन्द्र पौडेल जो राष्ट्रपति बने

  • 1.2K
    SHARES
  • नन्दी रात्री विद्यालयबाट राजनीतिमा उदाएका नेता रामचन्द्र पौडेल जो राष्ट्रपति बने

    बाजे कमलापति पौडेल संस्कृतका विद्वान थिए । कहलिएका पण्डित । नाती कलिलो उमेरमै अध्यनमा कुशाग्र थिए । उनी नातीलाई संस्कृत शिक्षामा आफूभन्दा पनि प्रकाण्ड बनाउन चाहन्थे ।

    images

    त्यसैले तनहुँको बाहुनपोखरास्थित घरमै नातीका लागि संस्कृतको प्रारम्भिक शिक्षाको व्यवस्था गरे । नातीले पनि बाजेको अपेक्षा अनुरूप नै अध्ययनमा अब्बलता प्रदर्शन गर्दै गए ।

    नातीको अध्ययनलाई औपचारिक रूपबाट अघि बढाउन पोखरास्थित संस्कृत पाठशालामा भर्ना गरिदिए । त्यहाँबाट उनले प्रथमा परीक्षा (आठ कक्षा) उत्तीर्ण गर्दा किशोर वयमा पुगिसकेका थिए । थप अध्ययनका लागि एक किशोरअवस्थामा विद्यार्थीको रूपमा काठमाडौंको रानीपोखरीस्थित संस्कृत पाठशालामा भर्ना भए । त्यहाँबाट पूर्व मध्यमा उतीर्ण गरे ।

    त्यसताका उनी दाजु पुण्यप्रसाद पौडेल (ठूला बुबाका छोरा) सँग बस्थे । पुण्यप्रसाद क्षेत्रपाटी स्थित जे.पी. हाइ स्कुलमा पढ्थे । त्यहाँ अंग्रेजी पनि पढाइ हुन्थ्यो । शुद्ध संस्कृतका छात्र रहेका उनलाई डेरामा दाजु पुण्य प्रसादले अंग्रेजी पढेको र अंग्रेजी बोलेको देखेर अंग्रेजीको आशक्तिले भेट्यो । उनको अंग्रेजी प्रतिको अतिशय अनुरागलाई दाजु पुण्य प्रसादले अलि अलिगर्दै उकाल्दै लगे । पुण्यप्रसादबाट अंग्रेजीको आधारभूत अध्ययन प्राप्त गरेपछि उनलाई अंग्रेजी विषयसमेत समाविष्ट भएको एस.एल.सी. अध्ययन गर्ने हुटहुटी जाग्यो । तर नातीले अंग्रेजी विषयमा देखाएको अनुरागप्रति बाजे कमलापतिलाई ठूलो आपत्ति थियो । बाजे कमलापतिले नातीले अंग्रेजी पढ्नुभन्दा अपठित रहनु नै उचित हुने भन्दै घर लिएर गए ।

    घरमै बसेर संस्कृतका जानकार गुरुहरूबाट संस्कृतको बृहत् अध्ययनको अवसर जुर्‍याे उनलाई । चिरञ्जिवी लम्सालजस्तो धुरन्धर संस्कृतज्ञबाट संस्कृतका विविध विधामा केही सिक्ने अवसर प्राप्त भयो । तर अंग्रेजीको आसक्तिले उनलाई छोडेन । उनी कसैगरी काठमाडौं फर्किए ।

    संस्कृत शिक्षार्जनमा लामो समय व्यतित् भइसकेकोले उनी शारीरिक रूपमा अलि छिप्पिसकेका थिए । अंग्रेजी पढाइ हुने विद्यालयमा उनी कक्षा ४ मा भर्ना हुनुपर्थ्याे । एकातिर अंग्रेजी सिक्ने चाहना अर्कोतिर छिप्पिएको उमेरका कारण सानो कक्षामा पढ्ने अवस्था थिएन । किशोर उमेरमा कक्षा ४ का कनिष्ठहरूसँग अध्ययन गर्न अप्ठ्यारो लाग्यो । तर अंग्रेजी अध्ययनको अठोटलाई उनी कसैगरी यथार्थमा अनुवाद गर्न चाहन्थे । त्यसैबीच उनलाई कसैले सुझायो– नन्दी रात्री पाठशालाको नाम ।

    परिपक्व र कामकाजी प्रौढहरूको प्राधान्यता रहेको नक्साल स्थित नन्दी रात्री पाठशालामा भर्ना गरिदिनका लागि मामा शुभनाय मिश्र समक्ष उनले आफ्नो इच्छा व्यक्त गरे । तदनुरूप मामा मिश्रले उनलाई नन्दी रात्री पाठशालामा भर्ना गरिदिए । अंग्रेजीको अतिसय प्रेमबाट वि.सं. २०१७ चैत्रमा नन्दी रात्रीका विद्यार्थी बनेका थिए रामचन्द्र पौडेल । उनी भर्ना त भए तर त्यो भर्ना प्रक्रिया भने सहज थिएन । आरम्भमा उनलाई आठ कक्षामा भर्ना हुन भनियो । तर उमेर बढी हुने भएकाले रामचन्द्रले कक्षा नौमा भर्ना हुने रूची देखाए । संस्कृत प्रष्ठभूमिबाट आएका रामचन्द्रले प्रवेश परीक्षा दिनुपर्ने भयो । प्रश्न सोधियो– “रानी पोखरीमा धेरै माछाहरू छन्’– लाई अंग्रेजीमा अनुवाद गर ।”

    त्यतिखेर उनलाई दाजु पुण्यप्रसादबाट सिकेको आधारभूत अंग्रेजीले ठूलो सहयोग गर्‍यो । सहजतासाथ जवाफ दिए । आत्मविश्वासपूर्ण उत्तरले रामचन्द्रलाई नन्दी रात्री पाठशालाको विद्यार्थी बनायो ।

    चैत्रमा नन्दी रात्री पाठशालाका विद्यार्थी बनेका रामचन्द्र पौडेल छिट्टै नै शिक्षकहरूका प्रिय शिष्य बने । प्र.अ. रामजी प्रसाद अर्याल लोकतान्त्रिक विचार बोक्थे । विद्यार्थीहरू समेतले रामचन्द्रलाई रूचाउँदै गए ।  २०१८ साउन ८ गते विद्यालयको स्थापना दिवस मनाउने तयारी हुँदै थियो । सो समारोहका लागि विद्यार्थीहरूको तर्फबाट गठित आयोजक समितिमा रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा सयोजकको जिम्मेवारी तोकियो । दिउँसो रानी पोखरी संस्कृत पाठशालाको छात्र युनियनको सभापतिको परिचय त छँदै थियो अब उनी रात्री पाठशालाको समेत वार्षिकोत्सव आयोजक समितिको सभापतिको थप परिचयवाला बने ।

    अध्ययनमा अब्बल र गुणग्राही समेत रहेका रामचन्द्रले आफूभन्दा प्रौढ र सरकारी जागिरे सहपाठीहरूबाट अनौपचारिक रूपमा आफ्नो ज्ञानको दायरा बढाउने मौका पाए । उनले संस्कृत इतर विषयमा दखल बढाउँदै गए । समाज र ज्ञानको दायरा फराकिलो पार्दै गए । समाज र ज्ञानका विविध विषयमा गहन दखल राख्दै त्यस क्रममा आउने जिज्ञाशा पनि शान्त पार्दै गए । हाल काठमाडौं महानगर वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठका पिता शिक्षक रत्नलाल श्रेष्ठ र प्र.अ. रामजी अर्यालले रामचन्द्रलाई प्रशासनिक सहुलियत प्रदान गरी राजनीतिक आन्दोलनमा अघि बढ्नलाई अनुकूलता थपिदिए । त्यसबाट प्रेरित रामचन्द्र पौडेल राजाद्वारा जननिर्वाचित बीपी कोइरालाको सरकार अपदस्थ गरी चालिएको गैरप्रजातान्त्रिक राजनीतिक कदमको विरूद्धमा सकृयतापूर्वक लागे ।

    २०१८ साउन ८ गते नन्दी रात्री पाठशालाको वार्षिकोत्सवमा प्रमुख अतिथिको रूपमा आमन्त्रित नेपाल सरकारका मन्त्रीका सामु उनले दमदार स्वागत भाषण गरे । सबैबाट स्यावासी पाए । त्यसबाट उत्साहित बनेका रामचन्द्र पौडेललाई नन्दी रात्री पाठशालाको छात्र युनियनको सभापति बनाइयो । त्यसपछि उनी राजाद्वारा गरिएको प्रजातन्त्रको अपहरण विरूद्ध विभिन्न ढंगले सकृय हुन थाले । नन्दी रात्रीका गुरुहरूद्वारा प्राप्त विविधतापूर्ण ‘एक्सपोजर’ ले रामचन्द्र थप चनाखो र क्रियाशील हुँदै गए । त्यसैबेला सरकारले ‘निर्देशन ऐन’ बनाएर विद्यार्थी संगठन, युवक संगठन, महिला संगठन समेत ७ वटा वर्गीय संगठन  गठन गरेको थियो । त्यसको विरोध गर्दै अघि बढेको समूहको नेतृत्व रामचन्द्रले लिए । उक्त समूहले विद्यार्थी संगठन स्वतन्त्र हुनुपर्छ, त्यसमा सरकारले कुनै प्रकारको बाधा, व्यवधान, निर्देशन गर्न पाउनुहुँदै भन्ने माग सहित विरोध गर्‍यो ।

    सरकारको उक्त निर्णयको विरोधलाई व्यवस्थित ढंगबाट अघि बढाउंनका लागि २०१८ सालको फागुनमा जे.पी. हाइस्कूलमा एउटा सम्मेलनको आयोजना हुने भयो । उक्त सम्मेलनका लागि उनले रानी पोखरीबाट संस्कृतपाठशाला प्रतिनिनिधित्वको अवसर छात्र युनियनका  सचिव होमनाथ दाहललाई दिए । आफू नन्दी रात्री पाठशालाको छात्र–युनियनको सभापतिको हैसियतमा सहभागी भए । नन्दी रात्री पाठशालाबाट प्रतिनित्व गर्न पाएकोमा उनले आत्मगौरव महसूस गरे । त्यसको कारण के थियो भने उनले अंग्रेजी पनि पढाइ हुने नन्दी रात्री पाठशालाको विद्यार्थीको हैसियतमा त्यहाँ प्रतिनिधित्व गर्न पाएका थिए । त्यस सम्मेलनले ४ जना रहने अध्यक्ष मण्डलको गठन गर्‍यो । सो अध्यक्षमण्डलमा नन्दी रात्री पाठशालाका रामचन्द्र पौडेल लगायत पद्मोदय मा.वि.का विपिन कोइराला, जे.पी. हाइस्कूलका टीका पोखरेल र रानी पोखरी संस्कृत पाठशालाका होमनाथ दाहाल थिए । उक्त अध्यक्ष मण्डलद्वारा विद्यार्थी संगठनमा सरकारको हस्तक्षेप, निर्देशन स्वीकार्य नहुने भन्दै उक्त संगठनलाई पूर्णतः स्वतन्त्रता दिइनुपर्ने माग राख्दै राजदरवारका मुख्य सचिव मार्फत् राजालाई एक ज्ञापन पत्र बुझाइयो । राजाका उनै सचिव मार्फत् तत्कालिन निर्देशन मन्त्री विश्व बन्धु थापालाई लेखिएको एक प्रत्युत्तर प्राप्त भयो रामचन्द्र पौडेललाई । उक्त, प्रत्युत्तरमा “आन्दोलनकारी विद्यार्थीहरूले राखेका मागको सम्बाेधन गर्दै सरकारबाट विद्यार्थीहरूमा कुनै प्रकारको पक्षपात र हस्तक्षेप हुन्न भन्ने यहाँहरूलाई अवगतै होला” भन्ने व्यहोरा लेखिएको थियो । यसरी नन्दी रात्री पाठशालाको विद्यार्थी रहँदा रामचन्द्र पौडेलको राजनीतिक जीवनयात्रा र अंग्रेजी अध्ययन सहितको एस.एल.सी. तहको पढाइ एक सात अघि बढ्यो ।

    २०१८ सालको उक्त आन्दोलन पछि पनि रामचन्द्र पौडेल कुनै न कुनै वहानामा तत्कालीन व्यवस्थाका विरूद्ध सकृय नै रहीरहे । सोही सकृयताका कारण उनी २२ दिन थुनामा समेत परे । तर उनले हिम्मत हारेनन् । ती किशोर रामचन्द्रलाई प्र.अ. रामजी अर्याल र नन्दी रात्री पाठशालाले विविध रूपले सहयोग गरिरहे । रामचन्द्र पौडेलले अध्ययनमा कुनै व्यवधान सहनु परेन । फलस्वरूप अब्बल अंकसाथ उनी एस.एल.सी. उत्तीर्ण गर्न सफल भए । यसरी अंग्रेजी अध्ययनको अनुरागले अघि बढेका किशोर रामचन्द्रलाई नेता रामचन्द्र पौडेल बनाउनमा नन्दी रात्री मा.वि. निर्णायक थलो बनेको पाइन्छ । उनै रामचन्द्रले प्रजातन्त्रका लागि देखाएको निरन्तर सक्रियताले अहिले देशकै सर्वाेच्च पद राष्ट्रपतिमा आसिन गराएको छ ।

    लेखक सविन खनाललाई रामचन्द्र पौडेलले दिनुभएको अन्तर्वार्तामा आधारित

    Sabin-with-Ramchandra.jpg
    रामचन्द्र पाैडेलसँग कुराकानी गर्दै लेखक 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology