Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

  • 293
    SHARES
  • खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

    विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने बताएका हुन् ।

    राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गरे ।

    नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उनले बताए ।

    उनले भने, ‘मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो । यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।’

    सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिए । उनले आगामी दिनमा थप सफलताको कामनासमेत गरेका छन् ।

    बधाई तथा सम्मान समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गर्नुभएको प्रसंग उल्लेख गर्दै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीज्यूले क्रिकेट खेल र खलाडीको स्तर वृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’ खेलाडीको मेहनत मात्र सबैथोक नभएको जिकिर गर्दै अध्यक्ष चन्दले पर्याप्त सहयोगका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरे ।

    आगामी दिनमा टेष्ट मान्यताप्राप्त देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बढ्ने उनले बताए । सरकारको प्राथमिकतामा खेल क्षेत्र पर्नुपर्ने अध्यक्ष चन्दको भनाइ छ ।

    खेलमा पूर्वाधारको अभाव सधैँ खड्किने गरेको उल्लेख गर्दै उनले कीर्तिपुर क्रिकेट मैदानको अवस्थाबारे राष्ट्रपति पौडेललाई अवगत गराएका छन् ।

    कीर्तिपुर क्रिकेट मैदानभित्र र बाहिर करिब ३० हजार दर्शकले खेलाडीको हौसला बढाएकामा धन्यवाद दिँदै उनले खेलप्रेमी र शुभचिन्तकको साथले क्रिकेटमा राम्रो गर्न सकेको बताए ।

    उनले भने, ‘मैदानभित्र बस्ने ठाउँ नभएर दर्शकले बाहिरबाटै साथ दिनुभयो, यसबाट नेपालमा दर्शकको क्रिकेटप्रतिको माया कति रहेछ भन्ने प्रष्ट हुन्छ ।’ सो अवसरमा क्यान सचिव दुर्गाराज पाठकले राष्ट्रपति पौडलसमक्ष क्रिकेट खेलाडी तथा पदाधिकारीको परिचय गराएका थिए ।

    यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख रूपैयाँ दिने घोषणा गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij