वेबटिभी खबर
झापा । झापामा गम्भीर प्रकारका क्षयरोगीको संख्या बढ्दै गएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिए ।
‘गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए’, दासले भने, ‘हाल उक्त संख्या दोब्बरले बढेको छ ।’ झापामा चालु आवको फागुनसम्ममा पाँच सय ८४ नयाँ क्षयरोगी फेला परेका छन ।
त्यसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष छन । एघार महिला र ४० पुरुषमा क्षयरोग पुनः दोहोरिएको दासले बताए । गत वर्ष जिल्लामा एक हजार एक सय ८६ नयाँ क्षयरोगी फेला परेका थिए ।
जिल्लामा ‘ड्रग रेसिसन्टेन’ (औषधीले काम नगर्ने) रोगीको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीको भनाइ छ । ‘गम्भीर प्रकारका रोगीको संख्या बढिरहेको छ’, कार्यालयका प्रमुख बाराकोटीले भने, ‘रोगीको खोजी कार्य पनि बढाउनुपर्ने देखिन्छ ।’
फेला परेका रोगीको संख्याका आधारमा औषधी आउने भएकाले पनि केही समस्या भएको उनको भनाइ छ । ‘औषधी ठिक्क पुग्ने गरी आउँछ’, बाराकोटीले भने, ‘पहिला केही बढी आउँथ्यो, कोही नयाँ थपिँदा पनि औषधी वितरणमा सहज थियो ।’
प्रादेशिक अस्पताल भद्रपुरमा गम्भीर प्रकारका क्षयरोगीको समेत उपचार हुने गरी डिआर सेन्टर सञ्चालनमा आउने भएको छ । यसअघि त्यस्ता रोगीले विराटनगर जानुपर्ने बाध्यता थियो ।
प्रादेशिक अस्पतालमा डिआर सेन्टर सञ्चालनमा आउने भएपछि त्यस्तो बाध्यता हट्ने भएको हो । सेन्टर सञ्चालनका लागि स्वास्थ्य निर्देशनालयबाट प्राप्त आवश्यक उपकरण आजै हस्तान्तरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
उता क्षयरोग दिवसका अवसमा आज स्वास्थ्य कार्यालयले क्षयरोगीलाई अन्डा र चना वितरणसमेत गरेको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ आज झापामा विविध कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij