वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन् ।
आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवम् निरीक्षण गर्दै उनले भने, ‘निर्वाचन पछि एकखालको दुर्घटना भयो, प्राकृतिकरुपमा जुन गठबन्धनको सरकार बन्नुपथ्र्यो, बन्न सकेन, त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जेजे एजेन्डा लिएर गएका थियौँ, ती एजेन्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ ।’
उनले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताए ।
नेपाल राष्ट्र र नेपाली जनताको आर्थिक वृद्धि गर्दै निश्चित वर्षभित्रै नेपाललाई विकसित राष्ट्रका रुपमा पुर्याउनु वर्तमान सरकारको प्राथमिकता भएको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री खड्काले संसद्मा रहेका सबै दल र संसद् बाहिर रहेका दललाई समेत समेटेर एकताबद्ध गराउँदै न्यूनतम साझा कार्यक्रमभित्र समेटेर मुलुकको स्वाभिमान, सुरक्षा, नेपाली जनताको हितमा एकताको भाव बोकेर वर्तमान सरकार अगाडि बढ्नेमा जोड दिए ।
सो अवसरमा उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनलगायतले स्वागत गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij