Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

व्यावसायिक तरकारी खेतीमा जुटे भोजपुर कोटका किसान

व्यावसायिक तरकारी खेतीमा जुटे भोजपुर कोटका किसान

  • 260
    SHARES
  • व्यावसायिक तरकारी खेतीमा जुटे भोजपुर कोटका किसान

    भोजपुर । भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन ।

    पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू टेम्केमैयुङ गाउँपालिका-६ वडा कार्यालयले अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन ।

    वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बास्तोलाले बताइन् । वडा कार्यालयले दिने प्रोत्साहन मूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको उनको भनाइ छ ।

    ‘स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ’, किसान बास्तोलाले भनिन्, ‘तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु, उत्पादन भएको तरकारी स्थानीय हाट बजारसँगै भोजपुर बजार जाने गरेको छ ।’

    वडा कार्यालयले माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ । आधुनिक प्रविधिअनुसार खेती गर्दा राम्रो उत्पादन हुने उनले बताइन् ।

    ‘खेती गर्छु भनेर मात्र पनि हुन्न रहेछ’, बास्तोलाले भनिन्, ‘कृषि सम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ, रोग किराको विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।’

    वडा कार्यालयले व्यावसायिकरूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाका आधारमा अनुदान सहयोग गर्दै आएको जनाएको छ ।

    भौगोलिकरूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उनको भनाइ छ ।

    ‘आर्थिकरूपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ’, वडाध्यक्ष नेपालले भने, ‘हामीले यहाँ माटोअनुसारको बालीमा जोड दिएका छौँ, व्यावसायिकरूपमा खेतीमा लागेका किसानको पहिचान गरेर अनुदानको कार्यक्रम सञ्चालन गर्छौं, अहिले व्यावसायिक कृषिमा लाग्नेको संख्या बढ्दो छ ।’

    कृषकले उत्पादन गरेको कृषिउपजलाई बजारीकरणमा समेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष नेपालले जानकारी दिए । वडाको बजेट बाहेक अन्य संघ संस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

    वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

    ‘वडामा आउने बजेट थोरै हुन्छ’, वडाध्यक्ष नेपालले भने, ‘यसले सबैको भावना समेट्न गाह्रो हुन्छ, अन्य निकायसँग हारगुहार गररे पनि विभिन्न कार्यक्रम भित्र्याएर किसानलाई सहयोग गरिरहेका छौँ ।’

    तरकारी खेतीका लागि प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल वितरणसँगै उन्नत जातको बीउ पाएपछि सहज भएको स्थानीय किसान महेन्द्र रसाइलीले बताए ।

    पानीको अभावमा खेती गर्न समस्या भएपनि वडाको सहयोगमा सामूहिक प्लाष्टिक पोखरी निर्माण गरेर सिँचाइको समस्या नरहेको उनको भनाइ छ । सुक्खाग्रस्त क्षेत्र भएपनि प्लाष्टिक टनेलमा पानी जमाएर सिँचाइ गर्न सहज भएको किसान रसाइलीले बताए ।

    ‘हामीलाई तरकारीसँगै नगदेबालीका लागि सिँचाइको समस्या छैन’, किसान रसाइलीले भने, ‘विगतमा सिँचाइका लागि पानी नहुँदा समस्या थियो, वडाको बजेटमा सामूहिक प्लाष्टिक टनेल निर्माण गरेका छौँ, त्यहीँबाट आवश्यकरुपमा सिँचाइ गर्छौं ।’

    यो क्षेत्र उत्पादनका लागि उपयुक्त भूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडासदस्य नवीन श्रेष्ठले बताए । कृषि उत्पादनमा जोड दिन माटो परीक्षण गरेर भूगोलअनुसारको बाली लगाउन किसानलाई प्रोत्साहन गरिएको जानकारी दिए ।

    ‘हामीले आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्न आवश्यक छ’, वडासदस्य श्रेष्ठले भने, ‘वडाको आवश्यताका विषयमा छलफल गरेर बजेटको प्राथमिकीरण गर्दछौँ, यसले वडावासीको मन जित्न हामीलाई सजिलो भएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij