वेबटिभी खबर
एजेन्सी । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन् ।
आज चिनियाँ विदेशमन्त्री छन् सङसँगको भेटवार्तामा जर्मनीकी विदेशमन्त्रीले रूसमा चीनभन्दा अरु कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेकी हुन् ।
चीनका विदेशमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै जर्मनीकी विदेशमन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानवअधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिएकी थिइन् ।
चीनले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेकामा आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ ।
गत साता चीनको राजकीय भ्रमणमा रहेकी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङको प्रमुख भूमिका हुने बताउँदै राष्ट्रपति सीलाई युद्ध रोक्नेतर्फ लाग्न आह्वान गरेका थिए ।
युक्रेन युद्धलाई लिएर चीन तटस्थ रहेको छ । बेइजिङले रूसी आक्रमणको निन्दा गरेको छन् ।
राष्ट्रपति सीको हालैको मस्को भ्रमणलाई लिएर पश्चिमा शक्ति राष्ट्रले चीनलाई रूसको परम्परागत सहयोगी भन्दै चीन रूसको पक्षमा रहेको आरोप लगाएका छन् ।
चीनले युक्रेन संकटको एकमात्र उपाय शान्ति प्रवर्द्धन तथा वार्ता भएको बताउँदै आएको छ ।
चिनियाँ विदेश मन्त्रालयले गत महिना शान्तिको अवधारणापत्र सार्वजनिक गर्दैै वार्ताको माध्यमबाट युक्रेन संकटको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।
यसैबीच चीनका रक्षामन्त्री ली साङ्फु आफ्ना रूसी समकक्षी सेर्गेई शोइगुको निमन्त्रणामा चारदिने भ्रमणमा आगामी आइतबार मस्कोतर्फ प्रस्थान गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij