Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डोटीका ३३ वडामा वडासचिवको दरबन्दी रिक्त

डोटीका ३३ वडामा वडासचिवको दरबन्दी रिक्त

  • 245
    SHARES
  • डोटीका ३३ वडामा वडासचिवको दरबन्दी रिक्त

    डोटी । डोटी जिल्लाको ६५  वडामध्ये ३३ वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ ।

    छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । अधिकृत भट्टले भने, ‘वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।’

    जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका चार वडामा सचिव छैनन् । नौ वडा रहेको नगरपालिकामा वडा नं ५, ७, ८, ९ सचिवविहीन छन ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए ।

    त्यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा पनि चार वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले दुई वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले जानकारी दिए ।

    बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन् । पाँच वडा रहेको यस गाउँपालिकामा तीन वडा सचिवविहीन छन । वडा नं १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टको भनाइ छ ।

    छ वडा रहेको जोरायल गाउँपालिकामा पनि दुईवटा वडामा सचिव छैनन् । वडा नं ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए । वडासचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उनको भनाइ छ ।

    बोगटान फुड्सिल गाउँपालिकाका छवटा वडामा सचिव छैनन् । सात वडा रहेको यस गाउँपालिकामा नं ३ मा मात्र वडासचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए । वडासचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीले काम गरिरहेका छन ।

    यस्तै सात वडा रहेको केआईसिंह गाउँपालिकामा पनि दुई वडा सचिवविहीन छन । वडा नं १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए ।

    पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकतानुसार वडासचिव छैनन् । सात वडा रहेको यस पालिकाका तीनवटा वडामा सचिवको दरबन्दी रिक्त छ । सचिव नहुँदा वडा नं ३ र ७ मा एक जनाले हेरिरहेका छन भने २ र ६ मा वडासचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन ।

    सात वडा रहेको आदर्श गाउँपालिकामा पनि तीनवटा वडा सचिवविहीन छन । वडा नं ३, ५ र ७ मा वडासचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए ।

    पालिकामा कर्मचारी अभाव भएपनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीको भनाइ ।

    प्रदेशका ८८ स्थानीय तहमध्ये ३९-४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीले बताए ।

    कर्मचारी अभाव भए/नभएको आफूहरूलाई थाहा नहुने जनाउँदै उनले भने, ‘हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौँ ।’ वडासचिव मात्र होइन, जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij