वेबटिभी खबर
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन ।
ठेकेदारको लापरबाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन । पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन ।
यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन । पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
ठेकेदारको चरम लापरबाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन । चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
निर्माणमा संलग्न ठेकेदारले बेला-बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन । ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन ।
नाम्खा-१ स्थित हेप्काखोलामा पक्की पुल १० करोडको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौंले पाएको थियो । २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल छ वर्षसम्म अधेरै छ ।
यस्तै ताग्रु खोला पुलको पनि काम हुन सकेको छैन । नाम्खा-४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले नौ करोड ३३ लाखमा लिएको थियो ।
उक्त पुल पनि अधुरै छ । सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले चार करोड १६ लाखमा लिएको जिम्मा लिएको भएपनि काम अधुरै छ ।
यसैगरी नाम्खा गाउँपालिका-६ लिमीमा पर्ने टाक्ची र लिङखोलाको मोटरेबल पुल निर्माणको जिम्मा अर्जुन महताराले एक करोड ३५ लाखमा लिएका थिए । महताराले पनि काम अधुरो बनाउँदै आएका छन । हिमताप, बाटो अवरूद्धलगायतका समस्या देखाएर काम ढिलाइ गरेका छन ।
पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमन्टलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माणमा ढिलाइ भएको हिल्सा-सिमकोट सडक योजना कार्यालयका इञ्जीनियर निरज राजवंशीले बताए । सबै पुल निर्माणका लागि यही असारसम्मको म्याद रहेको छ । रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij