Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

दोधारा चादँनी सुक्खा बन्दरगाहको ‘ईआईए’ डेढ दशकपछि स्वीकृत 

दोधारा चादँनी सुक्खा बन्दरगाहको ‘ईआईए’ डेढ दशकपछि स्वीकृत 

  • 264
    SHARES
  • दोधारा चादँनी सुक्खा बन्दरगाहको ‘ईआईए’ डेढ दशकपछि स्वीकृत 

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्यांकन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ ।

    दोधारा चादँनी नगरपालिका-१, २ र ३ मा पर्ने मायापुरी र गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा निर्माण हुने सुक्खा बन्दरगाह यसअघि सोही नगरपालिकाको कञ्जभोजमा प्रस्ताव गरिएको थियो ।

    स्थानीयको विरोधपछि महाकाली नदीमा निमार्णाधीन पुलको पश्चिमतर्फ बन्दरगाह निर्माणको प्रस्ताव गरी ईआईए स्वीकृत गरिएको हो । एकीकृत सुरक्षा जाँच चौकीसहित उक्त बन्दरगाह भारतले निर्माण गरिदिने गरी प्रक्रिया अघि बढिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

    सरकारले ईआईए स्वीकृत गरेसँगै भारतमार्फत हुने अन्तराष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह निर्माण प्रक्रिया अघि बढेको उनले बताए ।

    अढाइ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै छिट्टै भारत सरकारसँग बन्दरगाह निर्माणको समझदारीमा हस्ताक्षर हुने आश्वासन दिएका थिए ।

    गौरीशंकर साुमदायिक वनको एक सय १७ हेक्टर क्षेत्रमध्ये ६३ हेक्टर क्षेत्रमा आयोजनको काम सुरु गर्न मन्त्रीस्तरबाट स्वीकृत भएको निर्देशक गजुरेलले बताए । सुक्खा बन्दरगाहका लागि दुई सामुदायिक वनको दुई सय ८० बिघा जमिन प्रस्तावित छ ।

    स्वीकृत प्रतिवेदनअनुसार सामुदायिक वन क्षेत्रमा पर्ने एक हजार नौभन्दा बढी रुख कटान गर्नुपर्ने छ । एकीकृत सुरक्षा जाँच चौकीसहित भन्सार, बैंक, गोदाम, जाँचपास सेड, सुरक्षा निकाय र रेल्वे प्लेटर्फमलगायत संरचना बनाउने प्रस्ताव गरिएको छ ।

    भारतले सुक्खा बन्दरगाह निर्माण गरिदिने विषय अघि बढेको बताउँदै कार्यकारी निर्देशक गजुरेलले समझदारीमा (एमओयु) हस्ताक्षरका लागि दुई देशबाट पहल भइरहेको जानकारी दिए ।

    कार्यकारी निर्देशक गजुरेलले भने, ‘यसका लागि भारतबाट विस्तृत परियोजना (डीपीआर) बन्दैछ । एमओयु गरेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता हुन लागेको छ ।’

    उनले डीपीआर बन्न धेरै समय नलाग्ने बताउँदै सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij