Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

  • 222
    SHARES
  • बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

    झापा । झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दंग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् ।

    कनकाई-८ का प्रेम कार्कीले १२ हजारको बाख्राको बीमा गरेकामा १० हजार आठ सय पाएको बताए ।

    उनले भने, ‘पशु बीमा नगरेको भए घाटा लाग्थ्यो होला, बीमा गरेकाले घाटा लागेन, बीमा रकम पाएकामा खुसी लागेको छ । मैले सबै गाईवस्तुको बीमा गराएको छु ।’

    त्यस्तै अर्का कृषक दीपककुमार पाण्डेले बाख्रापाठाको १३ हजारको बीमा गराएकोमा बीमावापतको रकम पाएको छन् । उनले अन्य कृषकले पनि सरकारले ल्याएको पशु बीमा कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिए ।

    कनकाईमा कनकाई नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र अभियान नेपालको सहजीकरणमा साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजनाअन्तर्गत पशु बीमा कार्यक्रम सञ्चालन भइरहेका छ ।

    कार्की र पाण्डेजस्तै कनकाईका पशुपालक कृषकले ६ हजार तीन सयदेखि एक लाख ३६ हजारसम्म पशु बीमावापतको रकम पाएका छन् ।

    नगरपालिकाले बीमा गरेका ३७  पशुको कुल १० लाख ५७ हजार सात सय बीमा रकम कृषकलाई प्रदान गरिएको हेफर प्रोजेक्ट नेपालका कर्मचारी चन्दा सिटौलाले जानकारी दिए ।

    कनकाई नगरपालिकाले सरकारले लागू गरेको पशु बीमाअन्तर्गतको पशु बीमा गर्न चाहने कृषकको बीमावापत ७५ प्रतिशत रकम व्यहोर्ने गरेको छ ।

    सरकारले लागू गरेको पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र कृषकलाई पशु बीमा कार्यक्रममा सहभागी गराउन नगरपालिकाले बीमा रकममा समेत अनुदान दिइरहेको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।

    उनले भने, ‘कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न र केही भइहाले त्यसवापतको राहत दिन नगरपालिकाले सरकारको नीतिअनुरुप थप सहयोग गरिरहेको छ । पशु बीमा कार्यक्रमबाट केही कृषकले लाभ लिइरहनुभएको छ, केहीले लिनुभएको छैन, सबै कृषकलाई पशु बीमा गराएर सुरक्षित र व्यावसायिक पशुपालन गर्न म आग्रहसमेत गर्दछु ।’

  • सम्बन्धित विषय:

  • # कृषक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij