वेबटिभी खबर
गुल्मी । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन ।
जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन ।
चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आवमा ३१ घर र १५ गोठ एवम् आव २०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगलागीबाट तीन वर्षमा तीन करोड ६० लाख ३८ हजार पाँच सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ । जिल्लामा यो आवमा पाँच जनाले आगोबाट ज्यान गुमाएका छन । वैशाख महिनामा मात्रै तीन जनाले आगोमा परेर ज्यान गुमाएका छन ।
गत वर्ष चार र आव २०७६/७७ मा दुई जनाको आगोमा जलेर मृत्यु भएको थियो । तीन वर्षमा २० जना घाइते भएका छन । यो आवको चैतसम्म १० जना, गत वर्ष सात र आव २०७६/७७ मा तीन जना घाइते भएका छन ।
आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्याकमा उल्लेख छ ।
गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको छ सय १९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्याक समावेश गरिएको छैन ।
जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले बताइन् ।
सुक्खा मौसम र हावाहुरी एवम् लाहापरवाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij