Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

६० घरधुरी किसानलाई निःशुल्क कफीका बिरुवा वितरण

६० घरधुरी किसानलाई निःशुल्क कफीका बिरुवा वितरण

  • 397
    SHARES
  • ६० घरधुरी किसानलाई निःशुल्क कफीका बिरुवा वितरण

    खोटाङ । हिमाली कफी उत्पादक कृषक समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाले ६० घरधुरी किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गरेको छ ।

    कृषक समूहले उत्पादन गरेको २५ हजार कफीका बिरुवा बुइपास्थित छिप्तिका किसानलाई आज निःशुल्क वितरण गरिएको हो ।

    कृषक समूहले उत्पादन गरेको अरेबिका जातको कफीको बिरुवा नगर उपप्रमुख विशन राई र बुइपाका वडाध्यक्ष दिनेश राईले किसानलाई हस्तान्तरण गरे ।

    काभ्रेबाट २० हजारमा खरिद गरेर ल्याएको कफीको बीउबाट उत्पादन गरिएको बिरुवा किसानलाई निःशुल्क वितरण गरिएको समूहका अध्यक्ष सुमन राईले बताए ।

    किसानको मागअनुसार दुईदेखि पाँचसम्म निःशुल्क बिरुवा वितरण गरिएको समूहले जनाएको छ ।

    किसानलाई बाँझो जग्गामा कफीका बिरुवा लगाउन उत्प्रेरित गर्ने र कफीमा आत्मनिर्भर बनाउँदै व्यावसायिक रुपमा अगाडि बढाउन निःशुल्क बिरुवा वितरण गरिएको समूहका अध्यक्ष राईले जानकारी दिए ।

    बुइपामा उत्पादित कफीका बिरुवाको माग अत्याधिक रहेकाले अर्को वर्ष थप विस्तार गर्ने तयारी थालिएको समूहले जनाएको छ ।

    वर्ष दिन अघिबाट स्थापना भएको सो कृषक समूहले बिरुवा उत्पादनलाई अझ बृहत बनाउन वडा–३ बाम्राङ र वडा–१५ विजयखर्कका किसानसँग सहकार्य गरिरहेको बताइएको छ ।

    कफीलाई व्यवसायीकरण गर्दै कफी खेतीबाटै जीविकोपार्जन गराउन नगरपालिकाले नीति तथा कार्यक्रम बनाएको नगर उपप्रमुख राईले बताए ।

    ‘नगरपालिकाले कृषि खेतीलाई पहिलो प्राथमिकतमा राखेर काम गरिरहेको छ । किसानले कफी खेतीलाई व्यावसायीकरण गर्दा नगरको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौँ’, नगर उपप्रमुख राईले भने, ‘किसानले बिरुवा रोपेर मात्र हुँदैन यसलाई समय–समयमा रेखदेख गरी हुर्काउने र कफीलाई संरक्षणमा ध्यान दिनुपर्दछ । किसानले उत्पादन गरेका कफी प्रशोधन एवम् भण्डारणका लागि नगरपालिकाले सहयोग गर्नेछ ।’

    कफी खेती जिल्लाका १० वटै स्थानीय तहमा विस्तार भइरहेको छ । अरेबिका जातको कफी समुन्द्री सतहदेखि करिब आठ मिटर उचाइमा विषादी प्रयोगविना नै कफी उत्पादन हुने कृषि विज्ञले बताएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij