वेबटिभी खबर
लन्डन । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको जि-७ को सम्मेलन स्थलनजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।
बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थलनजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौं बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ ।
बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जि-७ का नेताहरुलाई आग्रह गरेका थिए । प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए । प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए ।
म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागु भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ । हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पार्ने गरेको छ ।
त्यतिबेलाको निर्वाचन निश्पक्ष नभएकाले अब निष्पक्ष निर्वाचन गराउने सेनाको दाबी छ । त्यसका लागि एक वर्षे संकटकाल समेत घोषणा गरिएको छ । सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म आठ सय ४० भन्दा बढीको मृत्यु पनि भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij