Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खडेरीले कृषि बालीमा असर

खडेरीले कृषि बालीमा असर

  • 233
    SHARES
  • खडेरीले कृषि बालीमा असर

    पाल्पा । लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् ।

    मकै, तरकारी, फलफूल खेती सिँचाइ अभावले सुक्न थालेका छन् । मकै खेतीले हराभरा हुने खेतबारी यतिबेला सुक्खा बनेका छन् । विगतका वर्षमा यस समय खेतमा लगाइएको मकै स्याहार्ने चटारो हुने गरेकोमा यस पटक खेतमै घुँघा नलाग्दै सुकेर नष्ट भएको पाल्पाको रामपुरकी कृषक राधिका भण्डारीले बताइन् ।

    उनले भनिन्, ‘अघिल्ला वर्षमा खेतमा लगाइएको मकै पाकेर स्याहार्ने चटारो हुन्थ्यो, खडेरीले अहिले त एउटा घोँगा पनि मकै स्याहार्न पाइएन, किसानलाई खेती गरेर खान पनि समस्या छ ।’

    खेतमा लगाइएको मकैले वर्ष दिनसम्म भैँसीलाई आहार व्यवस्थापनका लागि सजिलो हुने गरेकोमा यस पटक उत्पादन स्याहार्न नपाउँदा बजारबाट खरिद गरेर पशुपालन गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

    जेठको अन्तिम सातादेखि यस क्षेत्रमा खेतमा पाकेका मकै स्याहार्ने कामले किसान व्यस्त रहन्थे । हिजोआज किसानको दिन फुर्सदिलो बनेको छ ।

    सिँचाइ सुविधा भएका खेतबारीमा पनि आकाशे पानीको अभावले राम्रोसँग मकै सप्रन सकेको छैन । पानीका मूल खडेरीले सुक्दै जान थालेपछि सिँचाइ सुविधा पुगेका जमिन सुक्खा बनेका छन् । लामो समय खडेरीले खोला, नदीनालाका मूल, कुवाका पानी सुक्न थालेपछि कुलो तथा नहरबाट सिँचाइका लगिएका पानी खेतको मुहानमा पुग्नै समस्या रहेको कृषक घनश्याम देवकोटाले बताए ।

    उनले भने, ‘नहर, कुलोको पानी खेतको मुहानमा पु¥याउन सकिएको छैन, तरकारी खेतीमा खानेपानी आयोजनाको पानी साँझा÷बिहान बोकेर राख्ने हो, दिनभर चर्को घामले पानी राखे नराखेको केही फरक छैन ।

    देवकोटाले लामो समयदेखि व्यावसायिकरुपमा तरकारी खेती गरिरहेका छन् । करिब पाँचदेखि सात रोपनीमा उनले विभिन्न जातका तरकारी लगाएका छन् ।

    प्रयाप्त सिँचाइ दिन नपाउँदा बोटमा नै तरकारी ओइलाउन थालेको उनले बताए । खडेरीले मकैबाली तथा तरकारी खेतीमा नराम्रो असर गरेपछि यस पटक मकैबाली उत्पादन घट्ने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

    उनका अनुसार रामपुरका सिँचाइको पर्याप्त सुविधा भएका केही ठाउँमा लगाइएको मकै आकाशे पानीको अभावले राम्रोसँग सप्रन सकेका छैनन् ।

    घोका लागेका केही मकैमा किरा लाग्नेजस्ता समस्या देखिएको छ भने दाना पनि त्यति राम्रोसँग नलागेको किसान बताउँछन् । 

    दुःख गरेर लगाएको बाली स्याहार्न नपाई खडेरीले खेतबारीमै विलिन हुँदा किसान मारमा परेका छन् । खेतबारी खनजोत, मकै गोडमेल, मलजलका लागि गरेको लगानी खेर गएकोमा किसान चिन्तित बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # खडेरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij