वेबटिभी खबर
काठमाडौं । मंगलबार बिहानबाटै परेको अविरल बर्षाका कारण देशका तराईदेखि हिमाली जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्याएको छ । यो वर्ष प्रि-मनसुन र मनसुन केही चाँडै सक्रिय भएकाले मध्य जेठ र असार सुरुदेखि नै देशका अधिकांश जिल्लामा भारी बर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी र पहिरोले भौतिक र मानवीय क्षति पुर्याएको छ । मनसुन सुरू भएसँगै वर्षाका कारण प्रदेश १ र २ को सीमानामा पर्ने सप्तकोसी नदी आसपासदेखि सुदूरपश्चिमका बाजुरासम्मका क्षेत्रमा भौतिक र मानवीय क्षति पुगेको छ ।
कहाँ-कहाँ कति क्षति ?
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रकाअनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारीअनुसार हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो क्षेत्रमा केही मानिसहरू बेपत्ता भएको केन्द्रले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बजारमा क्षति पुर्याएको छ । बाढीका कारण होटल छतमा फसेका दुई जनालाई बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । यस्तै लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ । स्थानीय आकाश सार्कीकाअनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोलो पसेको थियो ।
रातभरि खोलाले बजारका घरका आंशिक भाग बगाउन थालेको र अहिले पनि जारी रहेको उनले बताए । ‘कोही त मेला गएका थिए, साँझ घर आउँदा पुरै पानीले भरिसकेको थियो, पानी झन् बढ्दै गइरहेको थियो, सार्कीले भने, ‘राति घर बगाउँदा मान्छे भागेर ज्यान जोगाए, धेरै सामान खोलाले बगायो ।’
बाढीले भत्काउन लागेका घरबाट स्थानीयको सामुहिक प्रयासमा सामान निकाल्न आफूहरू लागिपरेको सार्कीले बताए । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाएको बताए ।
मर्स्याङ्दी नदी थुनिँदा खतरा
मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ । नदी थुनिँदा पानीको बहावले निकास नपाउँदा त्यहाँ भरिएको पानी फुटेर कता जाने हो भन्ने तटीय क्षेत्रका स्थानीयबासी चिन्तामा छन् । बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङकाअनुसार बाढी पहिरोले मनाङको चामे र तालगाउँमा ५ सय जना मानिस विस्थापित भएका छन् ।पहिरोका कारण रुख ढलेर र ढुंगा खसेर ठाउँ-ठाउँमा सडक अवरूद्ध भएको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका यी क्षेत्रमा बढी क्षति
अविरल वर्षाका कारण गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाको यातायात सञ्चालन अवरुद्ध बनेको छ भने बाढी पहिरोका कारण भौतिक र मानवीय क्षति उच्च रहेको छ । केन्द्रका प्रमुख तामाङकाअनुसार अहिले पर्वत-बाग्लुङ, बेंशीसहर-मनाङ, बुटवल-तानसेन, गोरुसिंङे-सन्धिखर्क सडकखण्डमा पहिरो खसेपछि याताायात सञ्चालन अवरुद्ध बनेको छ ।
यता सल्यानको कपुरकोटमा पहिरोले सडक अवरूद्ध भएको छ भने साँफे-मार्तडी सडकमा ठाउँ-ठाउँमा पहिरो खसेको छ, त्यस्तै जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पहिरोले बाटो रोकेको छ । पूर्व-पश्चिम राजमार्गको देवदहमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको प्रमुख तामाङले जानकारी दिए ।
बाढी-पहिरोको बिध्वंसले पीडित भएका नागरिकलाई सरकारले राहत दिने भएको छ । ‘अहिले हामी मनाङ र मेलम्चीमा गैरखाद्यान्न सामग्रीहरू पठाउँदै छौं,’ प्रमुख तामाङले भने । मनाङमा विस्थापित भएका पाँच सय बढीलाई सेनाको हेलिकप्टरबाट त्रिपाललगायत सामान वितरण गर्ने तयारी रहेको उनले बताए ।
अझै १, २ दिन सचेत रहन आग्रह
मनसुन सक्रिय रहेको र बर्षाको सम्भावना अझै रहेको बताउँदै मौसमविद्हरूले आइतबारसम्म बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै नदीक्षेत्र आसपमसका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका सबैजसो स्थानमा आइतबारसम्म भारी बर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरि सबैभन्दा धेरै पानी पोखरामा १ सय १० मिलिमिटर परेको छ भने भैरहवामा ८२, धनगढीमा ५२, घोराहीमा ५० मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ ।
यसैबीच सत्तारुढ र प्रतिपक्ष सबै राजनीतिक दलका नेता र भातृ संगठनले बाढी पहिरो पहिरोपीडितहरूको राहत र उद्धारमा लाग्न देशभरका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij