वेबटिभी खबर
म्याग्दी । मंगला गाउँपालिका-१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन ।
उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी पुनले बुनेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ । परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायतका कपडा बुन्ने गर्छिन् ।
आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले बताइन् । ‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा लैजाने गर्छन्’, पुनले भनिन् ।
एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई सात हजारसम्ममा बिक्री हुने गरेको वृद्धा पुनले जानकारी दिइन् । फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आएकी छन ।
गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले बताइन् । ‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु’, पुनले भनिन् ।
झोला, गलबन्दी, स्वीटरलगायतका सामान घर गाउँमै बिक्री हुने गरेको छ । गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने वृद्धा पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो ।
उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आएकी छन । समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक संघ संस्थाको नेतृत्व नै गर्न सक्छन् भन्ने उदाहरण वृद्धा पुन बनेकी छन ।
२०५२ मा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उनले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आएकी छन । गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुर्खैली संरक्षणमा अगुवाइ गर्ने उनको हिम्मत अनुशरण योग्य छ ।
गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ । पुन सोही भवनमा एकलरूपमा बसोबास गर्दै आएकी छन । गोदावारी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाईलगायतका गतिविधिसमेत गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij