वेबटिभी खबर
गोरखा । गोरखामा प्रहरीले टल्कने ठूलो ढुंगा बरामद गरेको छ । गोरखा नगरपालिका-७ स्थित सीतपीपलबाट करिब ५४ किलोग्रामको टल्कने ठूलो ढुंगा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुंगा बरामद गरेर ल्याएको छ । ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढंगबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुंगा भन्ने देखिएको छ ।’
ढुंगा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उनले बताए । उनले भने, ‘एकातिरबाट ‘लाइट’ बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ । अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ ।’
उनले बरामद गरिएको ढुंगाका बारेमा भू-गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू-गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिए ।
बरामद गरिएको ढल्कने ढुंगा चोरी गरिएको नभई पुर्ख्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘बरामद गरिएको वस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुन्छ । पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन ।’
श्रेष्ठले आफूले पनि पहिलोपटक यस्तो प्रकारको ढुङ्गा देखेको बताए । उनले भने, ‘झट्ट हेर्दा ठूलो ‘आइस’ जस्तो देखिन्छ । उक्त ढुंगा बिक्री वितरण हुँदैछ भन्नेसम्मको सूचना हामीलाई प्राप्त भएको थियो, त्यसको आधिकारिताबारे पनि अनुसन्धान गर्दैछौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij