Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

रौतहटमा आमा छोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

रौतहटमा आमा छोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

  • 176
    SHARES
  • रौतहटमा आमा छोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

    रौतहट । रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    मौलापुर नगरपालिका-४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए । आरुहीको शव पङ्खामा झुन्डिएको र कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशंखरप्रसाद यादवले बताए ।

    उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटना पछि फरार छन । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

    कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका-५ मिठुअवा गाउँ हो । कविताका बुबा विजयशंखर साहले घटना थाहा पाउन साथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए ।

    उनका अनुसार छोरी र ज्वाइँबीच पटक-पटक विवाद हुने गरेको थियो । ‘बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन् । दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो’, साहले भने ।

    हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij