Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पचास प्रतिशत अनुदानमा किसानलाई कृषि औजार

पचास प्रतिशत अनुदानमा किसानलाई कृषि औजार

  • 339
    SHARES
  • पचास प्रतिशत अनुदानमा किसानलाई कृषि औजार

    सिन्धुली । कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि औजार वितरण गरेको छ ।

    चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताए ।

    अहिले धान रोपाइँ गर्ने बेलामा लम्पी स्कीन रोगबाट गोरु बिरामी पर्दा किसानलाई धान रोपाइँ गर्न समस्या भएको उनको भनाइ छ । कमलामाई नगरपालिकाले वितरण गरेको मिनी ट्रेलर र पावर ट्रेलरले धान रोपाइँ गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

    मिनी ट्रेलर पाएपछि अब खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सक्ने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने बताए ।

    कमलामाई नगरपालिकाले किसानलाई कृषि खेती गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको उनले बताए ।

    उनले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरुलाई यन्त्र उपलब्ध गराइएको बताए ।

    छनोटमा परेका किसानले कृषिलाई व्यवसायीकरण गर्ने जनाएकाले आधुनिक उपकरणले सो कामलाई सहज बनाउने बताए ।

    किसानको मागको आधारमा नगरपालिकाले किसानको परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गर्दै नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताए ।

    कृषिको व्यावसायिकताले युवालाई विदेश पलायन हुनबाट रोकी यही स्वरोजगार बनाउने, यहाँको पैसा तरकारीका नाममा अन्यन्त्र नजाँदा यहीँका जनाता आर्थिकरुपमा सवल हुने उनले बताए ।

    कमलामाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा ६४ जना किसानलाई मिनी ट्रेलर र चार जना किसानलाई पावर ट्रेलर वितरण गरेको कृषि शाखाका सरोज फुयालले जानकारी दिए ।

    यस आर्थिक वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा एक सय ७० जनालाई टनेल प्लाष्टिक, ८५ जनालाई मौरीको घर र २५ मेट्रिक टन धानको बीउ वितरण गरेको उनले जानकारी दिए ।

    कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत हरेक वडामा एक बालीलाई प्राथमिकता दिइएको र कृषिको व्यावसायिक खेतीका लागि हरेक वडामा समूह र सहकारीमार्फत दुई लाख प्रदान गरिएको उनको भनाइ छ ।

    कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन अन्तर्गत वडानम्बर १, ३, ४, ६, ७, १०, ११, १२ तरकारी, वडा नं २ मा अदुवा पकेट कार्यक्रम, वडा नं ५ मा ५ अदुवा वेसार, वडा नं ८ मा भुई कटहर, वडा नंं ९ मा लिचि र वडा नं  १३ र १४ मा चैते धान खेतीलाई प्राथमिकता दिएको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # किसान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij