वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भएपनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताएका हुन् ।
गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट-७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास निर्माणका कामहरु अघि बढिरहेको जनाए ।
उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको जानकारी दिए ।
उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो शहर नयाँ पुस्तालाई नासोकारुपमा हस्तान्तरण गरिने जानकारी दिए ।
राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ थियो ।
पूर्वी सुर्खेतका लेकबेँसी, भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij