वेबटिभी खबर
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो संख्या हालसम्मको सबैभन्दा बढी हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार ६ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन् ।
गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व संकलन भएको छ । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व संकलन भएको थियो ।
यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व संकलन भएको थियो । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व संकलन भएको थियो । तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो ।
त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ । यसबा एक लाख ४० हजार दुई सय ९८ राजस्व संकलन भएको थियो ।
दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।
पर्यटकको संख्याका हिसाबले गत आर्थिक वर्ष हालसम्मकै बढी हो । राजस्वको हिसाबले भने आव २०७५/७६ मा संकलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो ।
निकुञ्ज प्रवेश गर्ने नेपालीले रु एक सय ५०, सार्क देशकाले रु एक हजार र अन्य देशकाले रु दुई हजार राजस्व बुझाउने गर्दछन् ।
तिवारीले भने, ‘आर्थिक मन्दी र कोभिडका कारण विदेशी पर्यटक बाहिर ननिस्कनु र नेपाली पर्यटकको संख्या बढी हुनुले पर्यटकको संख्या बढी एवं राजस्व कम भएको हो ।’
विगतमा सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन ।
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् ।
यद्यपी अन्यत्रको तुलनामा यो संख्या निकै न्यून हो । हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
यहाँ आउने पर्यटकको पहिलो रोजाइ जंगल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् ।
भरतपुर महानगरपालिकाले पनि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij