Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रिय गौरवका आयोजना : वर्षौँ बित्दापनि सम्पन्न हुँदैन काम

राष्ट्रिय गौरवका आयोजना : वर्षौँ बित्दापनि सम्पन्न हुँदैन काम

  • 203
    SHARES
  • राष्ट्रिय गौरवका आयोजना : वर्षौँ बित्दापनि सम्पन्न हुँदैन काम

    बाग्लुङ । बाग्लुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व-पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन-भारत जोड्ने कालीगण्डकी करिडोर र तराई-पहाड जोड्ने सालझण्डी-ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् ।

    बरेङ , ताराखोला  र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् ।

    अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी-ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् ।

    स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुंगाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ ।

    यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौंलगायतका ठूला सहरबाट यातायात सञ्चालन हुन्छ । यस सडकले जिल्लाको बाग्लुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी ६ वटा पालिका जोडिएको छ ।

    उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ । यो सडकमा स्थानीय गाडीमात्रै चल्छन् । ठूला सहरबाट गाडी आउँदैनन् । सालझण्डी-ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ ।

    यस सडकमा पनि ठूला सहरबाट गाडी सञ्चालन भएका छैनन् । मध्यपहाडी लोकमार्गको अब करिब १२-१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी-ढोरपाटन स्तरोन्नतिका लागि सरकारले ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन ।

    नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ । कालीगण्डकी करिडोरको बाग्लुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ ।

    अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनले राष्ट्रको गौरवको आयोजनाका काम तीव्रगतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको बताए ।

    वि.सं २०७३ मा खुलेको करिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ । समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न नसकेको उनको भनाइ छ ।

    कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै दुई घन्टाको दूरी छोटिने उनले बताए ।

    उपप्रमुख शर्माले भने, ‘करिडोर दुई-तीन देशमात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बाग्लुङमा सामान ढवानी गर्न सकिन्थ्यो, बुटवल, भैरवहालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा पुग्नुपर्ने थिएन । करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घन्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बाग्लुङको मुहार फेर्ने छ ।’

    मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठेखोला खण्डमा काम हुनसकेको छैन ।

    ट्रयाक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठेखोलाका अध्यक्ष राजु थापाले बताए ।

    यो सडकमा हरेक दिन दर्जनौँ साना-ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको उनको भनाइ छ ।

    सालझण्डी-ढोरपाटन सडक बागलुङ खण्डमा गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ । गुल्मी खण्डमा कालोपत्र गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर कालोपत्र भएको छ ।

    यस सडकलाई यस वर्ष ४० करोड विनियोजन भएको थियो । ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले घरै अगाडि सडक भए पनि स्थानीयले सहजरूपमा प्रयोग गर्न नपाएको बताए ।

    ढोरपाटन प्राकृतिकरूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उनले बताए । उनले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्रगतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताए ।

    केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उनको भनाइ छ ।

    हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुका साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उनले बताए ।

    उनले भने, ‘दिनदिनै ढोरपाटनमा पर्यटक आउने गर्छन्, सडकको अवस्था देखेर निरास भएर फर्किन्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ । हामीहरू भन्दाभन्दा हैरान भयौँ, जनताले नगरपालिकाले सडक बनाएन भन्छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रूपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij