म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन छन ।
विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएका हुन ।
प्राधिकरणले मालिका गाउँपालिका-७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।
२०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तयारीसहित काम थालिएको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।
उनका अनुसार उक्त आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेको छ ।
‘शिवरात्री खोलाको पहरामा अड्किएको सडक धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेपछि मार्ग खोलिएको हो’, आयोजना प्रमुख अग्रवालले भने, ‘हाइड्रो इम्पायर प्राली काठमाडौंले धवलागिरि-४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।’
आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युतगृहको काम थालिएको बताए । उनका अनुसार सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ ।
धौलागिरि हिमालको फेदि भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माण अनुमति पाएका छन । त्रिपन्न मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाटको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन ।
अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि-४ मा २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि-१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन ।
त्यस्तै, एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि-४ मा १४.७० मेगावाट क्षमताको मुदिखोला, सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति लिएका छन ।
त्यस्तै, छ दशमलव पाँच मेगावाटको दरखोला, धवलागिरि-४ मा तीन दशमलव ४५ मेगावाटको सिम्कोश, धवलागिरि-४ मुदीमा १२ दशमलव ७३ मेगावाटको अपर मुदी, नौ दशमलव पाँच मेगावाटको म्याग्दीखोला ‘बि’ र चार दशमलव छ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजनाका लागि सर्वेक्षणको अनुमति लिएका छन ।
जिल्लामा जलविद्युत् आयोजना भित्रिएसँगै सडक सञ्जाल विस्तारका साथै भौतिक पूर्वाधार निर्माणले गति लिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।
आयोजनाले बनाएका पूर्वाधारबाट स्थानीयले रोजगारी पाउने, लगानी गर्ने वातावरण बन्ने, सुविधा उपभोग गर्न पाउनुका साथै दीर्घकालीन हिसाबले पालिकालाई विद्युत्बाट आम्दानीसमेत हुने उनको भनाइ थियो ।