वेबटिभी खबर
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघिसारेको छ ।
केयूद्वारा बुधबार आयोजित ‘नेपालमा खानी इन्जिनियरको महत्व, उपयोगिता तथा शैक्षिक अनुसन्धान’ विषयक अन्तक्रियामो उपकुलपति प्रा.डा भोला थापाले नेपालको सुन्दरता जोगाइराख्न डाँडा बचाइ खानी सञ्चालन गर्ने प्रविधिका लागि खानी इन्जिनियरको आवश्यकता परेको बताए ।
उनले भने, ‘नेपालमा रहेका खानीजन्य उद्योगमा खानी इन्जिनियरको अभाव पूर्तिका केयूले एक स्थानीय तह, एक माइनिङ इन्जिनियरको अवधारणा अघि सारेको हो ।’
थापाका अनुसार केयूले चालु शैक्षिक सत्रदेखि भू–विज्ञान तथा ‘माइनिङ इन्जिनियरिङ’ को चारवर्षे अध्यापनको तयारी थालेको छ ।
उनले हाललाई काभ्रेपलाञ्चोकलगायत केही जिल्लाका स्थानीय तहले कम्तिमा एक जना भए पनि विद्यार्थीलाई माइनिङ इन्जिनियरिङ अध्ययनमा पठाउन आग्रह गरे ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले नेपालमा औँलामा मात्रै गन्न सकिने खानी इन्जिनियर रहेको उल्लेख गर्दै एक सय ६० प्रकारका खनिज उद्योग रहेको तथा उही संख्यामा अन्य बहुमूल्य खानीको सम्भावना रहेको बताए ।
उनले भने, ‘नेपालका खानीजन्य उद्योगमा कतैपनि माइनिङ इन्जिनियर छैनन्, विभागमा त चार जना मात्रै छौँ, यस विषयमा निकै अवसर छ ।’
उनले निर्माण सामग्रीबाट नेपालमा वार्षिक सात अर्ब राजस्व उठ्ने गरेको जानकारी दिँदै त्यस्ता सामग्री निर्यात गर्नसके वार्षिक१३ खर्ब आम्दानी भई एक वर्षमै वैदेशिक व्यापार घाटा पूर्ति गर्न सकिने बताए ।
नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष डा. विकास अधिकारीले नेपालका विश्वविद्यालयमा अध्ययन गरेको जनशक्ति विदेश पलायन भइरहेको समस्याको गहिरो अध्ययन जरुरी रहेकाले नेपालमा आवश्यक जनशक्तिका लागि नयाँ प्रविधियुक्त शिक्षणको आवश्यकता औँल्याए ।
उनले भने, ‘माइनिङ इन्जिनियरिङ विषय नयाँ खोज र अनुसन्धानात्क विषय पनि हो, यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ ।’
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले स्थानीय तहसँगको समन्वयमा माइनिङ इन्जिनियरको अध्ययनका लागि विद्यार्थी व्यवस्थापनमा जुट्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij