वेबटिभी खबर
वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन् ।
उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’
कांग्रेस पार्टीभित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका छन् । निर्वाचनमा भोट दिइरहेका छैनन् । यस्तो अवस्थामा कांग्रेसमा लाग्नु र ? भन्ने शंसय उत्पन्न हुने नेता डा.महतले भनाइ छ ।
उनले भने, ‘ आन्तरिक रुपमा बहस हुनु ठीक छ । निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ । तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जानु हो । खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’
अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने सम्भावना टरेको बताएका छन् ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा.महतले भन्नुभयो, केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ । तर कांग्रेस बैठक सधैं लाइभ हुँदैन ।
हामी धेरै कर्मकाण्डी भएका छौं, सिधैं विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागत रुपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताको बीचमा लिएर जानुपर्छ ।
नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी नेपाली कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता महतले भने, ‘काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो, तर हाम्रा नेता खराब भनेर हिडिराख्ने हाम्रै साथीहरुलाई रोग लागेको छ । यसबाट हामी मुक्त हुनुपर्छ ।’
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपनि संख्यामा कांग्रेसकै मन्त्रीहरु धेरै रहेको उनले बताए ।
उनले भने, ‘कांग्रेसका मन्त्रीहरुले धेरै राम्रो काम गरिराख्नु भएको छ । मैले पनि राम्रै काम गरेको छु भन्ने लाग्छ । नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । जे अप्ठ्यारा र समस्या मैले देखें, त्यसको सम्बोधन गर्ने प्रयास गरिरहेको छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij