Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कृषिमा रमाउँदै लाहुरे गुरुङ

कृषिमा रमाउँदै लाहुरे गुरुङ

  • 238
    SHARES
  • कृषिमा रमाउँदै लाहुरे गुरुङ

    बाग्लुङ । उमेरले ५८ वर्ष पुगेका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो ।

    मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गरेका उनले यतिबेला कृषिबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उनी व्यावसायिक कृषि आबद्ध भएका हुन् ।

    गलकोट-१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले भारतीय सेनामा १६ वर्ष बिताएपछि २०६१ सालमा अवकास लिएका थिए । त्यसपछि वैदेशिक रोजगारीका लागि इराक पुगेका उनले त्यहाँ तीन वर्ष बिताए ।

    त्यसपछि २०६४ सालमा गाउँ फर्किएका गुरुङले २०६५ सालदेखि मकै फल्ने बारीमा व्यावसायिक कृषि सुरु गरेका हुन् ।

    उनले भने, ‘मकैबारीमा पोखरी बनाउँदा गाली गर्नेहरू धेरै थिए । तीन रोपनीमा माछापालन र तीन रोपनीमा गरिएको सुन्ताला खेती यतिबेला आम्दानीको भरपर्दो स्रोत बनेको छ ।’

    उनका अनुसार यतिबेला माछापालन र सुन्तला खेतीबाट वार्षिक औसत पाँच लाख बचत भइरहेको छ ।

    उनले भने, ‘तत्कालीन समयमा सोखका हिसाबले माछापालनका लागि पोखरी खनेँ, सुन्तलाका विरुवा पनि रोपे । अहिले यो व्यावसायिक भयो, आफैँ पसिना बगाउँछु, जति लगानी गर्नुपर्ने हो त्यो बेलै गरेँ, अहिले आम्दानीको भरपर्दो स्रोत भएको छ । सबै रकम बचत भइरहेको छ ।’

    गुरुङले माछापालनको सोच भने भारतीय सेना कार्यरत हुँदा नै बनाएको सुनाए । अहिले आम्दानीका लागि पेन्सन समेत भएकाले आफू र पाहुनाका लागि छुट्याएपछिको मात्रै माछा बिक्री गर्दै आएका छन् ।

    जसबाट वार्षिक तीनदेखि चार लाखसम्म बचत हुने उनको भनाइ छ । घरै अगाडि सुन्तलाको बगैँचा र बीचमा माछापोखरी हुँदा घर छाडेर अन्तत्र बसाइसराइँ गर्न मन नलाग्ने उनले सुनाए ।

    उनले भने, ‘पहिला सोखले सुन्तला र माछापालन थालेको थिएँ, पछि माछापालनको क्षेत्र बढाएर तीन रोपनी पुर्याएँ, अहिले घरमै माछा खोज्न ग्राहक आउँछन् । सुन्तलाको यसवर्ष एकमुष्ट दुई लाख आम्दानी गरेँ, केही सुन्तला आफन्तलाई कोसेली पठाएँ, श्रीमतीले घर नजिकैको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्छ, फुर्सदको समयमा श्रीमतीले समेत सुन्तला बगैँचाको स्याहार गर्नुहुन्छ ।’

    गुरुङले मगरात एकीकृत कृषि फार्म दर्ता गरी खेती गरिरहेका छन् । अहिले माछाको बजारभाउ प्रतिकेजी ६ सयमा बिक्री गर्दै आएको गुरुङको भनाइ छ ।

    उनले माछा नजिकको हटिया र बाग्लुङ बजारमा खपत हुँदै आएको बताउँदै सुन्तला भने एकमुष्ट बिक्री हुने बताए । सुन्तलाका बिरुवा बढाउने र पोखरीलाई थप व्यवस्थित गर्ने योजनामा गुरुङ छन् ।

    दुदिलाभाटीको चिसो पानीमा हुर्केका ग्रासकाप र सिल्भर कापका माछाको स्वाद मीठो भएकाले यहाँको माछा ग्राहकको रोजाइमा परेको उनको भनाइ छ ।

    मकैबारी मासेर पोखरी बनाउँदा गाली गर्नेहरूले अहिले आफ्नो व्यावसायिक सोचबाट प्रेरित भएको देखेर आफूलाई सुन्तुष्टि मिल्ने गुरुङको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij