Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बेनी-जोमसोम सडक : बैसरीको पहिरो रोकथाम गरिँदै

बेनी-जोमसोम सडक : बैसरीको पहिरो रोकथाम गरिँदै

  • 201
    SHARES
  • बेनी-जोमसोम सडक : बैसरीको पहिरो रोकथाम गरिँदै

    म्याग्दी । कालीगण्डकी करिडोरको बेनी-जोमसोम खण्डको सडक अवरूद्ध बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका-२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।

    म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।

    सडकबाट पाखो हुँदै करिब पाँच सय मिटरमाथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताए ।

    उनले भने, ‘छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौँ । करिब दुई सय मिटर लम्बाइको पहिराको आधा भाग यसरी नै बगाइसकेका छौँ । माटो जति पानीले बगाउने र खस्नेजस्तो देखिने ढुंगा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।’

    भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताए । पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुंगामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ ।

    पाखोबाट खसाल्ने काम सकिएपछि सडकमा थुप्रिएको ढुंगा माटो डोजरले पन्छाएर सडकमा यातायात सञ्चालनको तयारी भएको आयोजना प्रमुख प्रजापतिले बताए ।

    पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरूपमा व्यवस्थापन गरिने उनले बताए ।

    पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी-जोमसोम सडकको घुमाउनेताल-बेगखोला खण्डमा पूर्णरूपमा यातायात बन्द गरिएको छ ।

    बैसरीको पहिराले साउन २१ गतेदेखि सडक अवरूद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

    बेनीबाट पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका-७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका छन् । पहिरोले पुरेको जीप अझै निकालिएको छैन भने सवारीधनीसमेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    सडकमा र्ढुंगा खस्ने समस्याको कारण दैनिकजसो यातायात अवरूद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ । पहिरो सुरु हुने स्थानबाटै दीर्घकालीन समाधानको प्रयास गरिएको आयोजनाले जनाएको छ ।

    बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्रयाक्टरलाई घुमाउनेताल-पिप्ले-रानीपौवा-रिसिनचौतारी-माझखर्क-बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल-बेगखोला वैकल्पिक मार्गको मर्मतको काम सुरु गरेको थियो ।

    डोजर, ब्याकुहोलोडर, ट्रयाक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युमपाइप राख्ने काम भइरहेको कार्यालयका सबइन्जिनियर रविन चोखालले जानकारी दिनुभयो । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन लागिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij