Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

  • 210
    SHARES
  • पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

    पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका-२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् ।

    विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन  पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

    पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ । पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ ।

    उनले भने, ‘आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन । जोखिमकैबीच  आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन् । जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ । दुई तीनवटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।’

    नौडाँडा-कार्कीनेटा-फलेवास-जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीनवटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए ।

    विद्यालयका आठवटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij