वेबटिभी खबर
जेनेभा । संयुक्त राष्ट्र संघले अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किन थालेपछि तालिबान लडाकुले अफगानिस्तानका दर्जनौं जिल्ला आफ्नो नियन्त्रणमा लिन सुरु गरिसकेको भन्दै चेतावनी दिएको छ ।
राष्ट्र संघका विशेष दूत डेबाेरा ल्याेन्सले तालिबान लडाकुले मे महिनादेखि अहिलेसम्म ३७० मध्ये ५० जिल्ला आफ्नो नियन्त्रणमा लिएपछि संघले बदलिँदो समीकरणलाई लिएर चेतावनी जारी गरेको बताइन् । ल्योन्सले न्यूयोर्कमा १५ सदस्यीय सुरक्षा परिषद्मा तालिबानको उदयका लागि आक्रामक सैन्य अपरेसन एक मुख्य कारक भएको पनि बताइन् ।
अफगानिस्तानमा बढ्दो संघर्षको अर्थ असुरक्षा मात्र होइन्, यसको खतरा अफगानिस्तानभन्दा धेरै पर रहेका देशका लागि पनि चिन्ताको विषय हो । अमेरिका र नेटो सेप्टेम्बर ११ देखि आफ्ना सबै सैनिक अफगानिस्तानबाट फिर्ता बोलाउने लक्ष्य लिएर प्रक्रिया अघि बढाइरहेका छन् ।
पेन्टागनका प्रवक्ता जोन किर्बीले अफगानिस्तानको अवस्था गतिशिल भइरहेको छ, तर तालिबानको बढ्दो पकडले अहिलेसम्म सेना फिर्ती कार्यक्रमलाई असर नगरेको बताए । यद्यपि यसको गति र कार्यक्षेत्रमा अझै केही हदसम्म लचिलोपना छ । तर कट्टरपन्थी इस्लामी समूह तालिबानले पछिल्ला दिनमा आफ्नो कार्यक्षेत्रको विस्तार गरेपछि संयुक्त राष्ट्र संघ चिन्तित भएको छ ।
मंगलबार अधिकारीहरुले तालिबानले ताजकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको मुख्य क्षेत्र कुन्दुज पनि कब्जा गरेको बताएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले तालिबानले नियन्त्रणमा लिएका क्षेत्रहरु फिर्ता गर्ने अभियान सुरु गरेको बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij