वेबटिभी खबर
मेलबर्न । अष्ट्रेलियाका चिकित्सकहरूले एस्ट्राजेनेका खोपलाई लिएर नयाँ सावधानी अपनाउँदै खोप लगाउन नमान्ने व्यक्तिहरूको संख्या बढेको बताएका छन् ।
गत साता त्यहाँको सरकारले ६० वर्ष उमेर माथिकालाई मात्र खोप दिने निर्देशन सिफारिस गरेपछि यस्तो स्थिति देखिएको हो । ती समूहका व्यक्तिले एस्ट्राजेनेका खोप लगाउन नमानेपछि उनीहरुलाई फाइजर लगाउन भनिएको छ तर फाइजर खोपको डोज सीमित रहेको बताइएको छ ।
अष्ट्रेलिया भाइरस अत्यधिक नफैलिएका विश्वका केही राष्ट्रहरुमध्ये एक हो । तर सिड्नी र मेलबर्नका स्थानीय बासिन्दाहरूले कोरोना संक्रमणको जोखिमभन्दा खोपका कारण हुनसक्ने भनिएको रगत जम्ने जोखिमलाई ठूलो रूपमा लिएको हुन सक्छ । केही महिना अघि एस्ट्राजेनेका खाेप लगाएका मानिसमध्ये केहीमा रगत जम्ने समस्या देखिएकाे थियाे ।
अष्ट्रेलियामा केही महिनादेखि नै त्यहाँका नागरिकहरुले खोप लगाउन मानिरहेका छैनन । त्यहाँ फेबु्रअरीदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो र हालै ४० वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिद थालिएको थियो । त्यहाँ अहिलेसम्म ३ प्रतिशत युवाहरुले मात्र खोप लगाएका छन् भने करिब २५ प्रतिशत जनसंख्याले पहिलो डोज लिएका छन् ।
अन्य पश्चिमी देशको तुलनामा अष्ट्रेलिया खोप कार्यक्रममा पछाडि छ । सरकारले अप्रिलसम्म मुख्य खोप एस्ट्राजेनेका हुने परिकल्पनासहित उत्पादनका लागि स्थानीय स्तरमा प्रयोगशालाहरू स्थापना गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij