बैतडी । बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो ।
असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी-७ का मदन धामीले जानकारी दिए । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन ।
धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । दिनभरि मौसम सफा रहेपनि साझँपख वर्षा भएको छ ।
वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन् । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन ।
हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij