Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

किसानलाई चाडपर्वसँगै बाली थन्क्याउन र लगाउने चटारो 

किसानलाई चाडपर्वसँगै बाली थन्क्याउन र लगाउने चटारो 

  • 186
    SHARES
  • किसानलाई चाडपर्वसँगै बाली थन्क्याउन र लगाउने चटारो 

    महोत्तरी । मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला ।

    यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारो सँगसँगै परेको छ ।

    जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा अलि ढिलो पाक्ने धान लगाउने गरिन्छ । तर उत्तरी क्षेत्रमा हिउँदे बाली लगाउन पछि खेतबारी रुखिने हुँदा चाँडै (कात्तिकमा) पाक्ने धान लगाइने गरिन्छ ।

    यसपालि कात्तिक दोस्रो साताभित्र दसैँ सकेका किसानलाई अन्तिम सातामा दिवाली र त्यसलगत्तै छठले छोप्दैछ । यसैबेला मुख्यबाली धान० काट्ने, दाइँ गर्ने र थन्क्याउनु छ । हिउँदे आलु, कोभी र भाण्टासहितका तरकारी बाली लगाउन बेला बित्दैछ ।

    धान काट्नासाथ गहुँ, दलहन चना, मुसुरो, रहरिया, केराउ, तेलहन-तोरी, सस्र्यू, आलस मसला धनियाँ र उखु रोपिनु छ । चाडवाडको रमझम र खेतीपातीको चटारो सँगसँगै पर्दा  अहिले भ्याइनभ्याई परेको किसान बताउँछन् ।

    ‘मुखमा चाडवाड छन्, खेतमा वर्ष दिन खाने अन्न (धान) पहेँलपुर भएर पाकेको छ, राम्ररी सास फेर्ने फुर्सद छैन’, भङ्गाहा-५ कर्पुरगन्जका रामजुलुम सर्दारले भने, ‘सबैलाई पर्व लागेको हुँदा जनमजदुर कृषि कार्यका श्रमिक पनि पाइँदैनन्, घरका केटाकेटी चाडवाडकै रमाइलोमा छन्, अहिले धपेडी छ ।’

    तिहार र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका किसानलाई धान काट्ने, झाँट्ने र थन्क्याउनेसँगै तोरी छर्ने बारीको खनजोत गर्न पनि भ्याइनभ्याई परेको सर्दारले बताए । अहिले कतिले धान काटेर खेतमै सुकाएका छन । कति खलोमा धान चुट्दैछन् ।

    यता घरमा लिपपोत र सिङ्गारपटारको चटारो छ । खुसी र उज्यालोको पर्व दिवाली आ-आफ्ना सावगासअनुसार सबैले मन फुकाएर मनाउने परम्परा छ । गृहस्थ जीवन यी सबैको चाँजोपाँजोको जोड रहेको भङ्गाहा-४ पलारका ८० वर्षीय चौठी बाँतरको भनाइ छ ।

    जिल्लाको उत्तरी क्षेत्रमा अहिले हिउँदे बाली लगाउने ठीक बेला परेको छ । कात्तिक अन्तिम साताको प्रारम्भमा रोपिने उखु, त्यसै बेला छरिने गहुँ र त्यसअघि दलहन चना, मुसुरो र केराउसहितका फसल कात्तिकमै लगाइसक्नुपर्ने हुँदा अहिले खेतबारी जोतखन गर्ने बेला छ ।

    त्यसैगरी कतिपय किसान दिवाली र छठलक्षित आम्दानी लिन उखु पेलेर सख्खर बनाउन थालेका छन । यसैबेला पुस-माघमा उत्पादन लिइने आलु, कोभी, भाण्टासहितका तरकारी बाली लगाउन पनि बेला भड्किदो छ ।

    पछिल्ला दुई/तीन दशकयता कृषि श्रमिक रोजगारीका लागि भारतको पञ्जाव र हरियाणा जाने क्रम बढेसँगै यहाँको खेतीपाती निकै अप्ठ्यारो बन्दै गएको किसान बताउँछन् ।

    ‘अब जनमजदुर छैनन्, सबै मुग्लान (भारत) जान्छन्, खेतीपाती धान्न सकस छ’, गौशाला-१० लक्ष्मीनियाँका किसान लक्ष्मी महतोले भनिन्, ‘अब घरमा खेतीपातीका काम गर्नसक्ने परिवारजन हुनेले मात्र खेती धान्न सक्छन् ।’

    स्थायी सिँचाइको प्रबन्ध नहुँदा जिल्लाका ९० प्रतिशत खेतीयोग्य जग्गा आकाशे पानीको भरमा छ । यो समस्यासँगै बीउ, मलखाद र खेतीका बेला सुलभ ऋणसम्म पनि नपाउँदा किसान अब खेतीबाट विरक्तिँदै गएका छन । तीन तहका सरकार भए पनि किसानका समस्या ज्यूँका त्यूँ छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij