नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा बढ्दो प्रदूषण नियन्त्रण गर्न सवारी साधनलाई जोरबिजोर प्रणाली लागू गर्ने निर्णय सरकारले गरेको छ । वातावरणीय प्रदूषणको मात्र बढ्दै गएपछि दिल्लीका विद्यालयसमेत बन्द गरिएको छ ।
जेष्ठ नागरिक, बालबालिका, बिरामी र गर्भवती महिलालाई अहिलेको प्रदूषणले निकै असर गर्नसक्ने भएकाले सरकार आवश्यक तयारीमा जुटेको हो ।
जोरबिजोर प्रणाली नोभेम्बर १३ देखि २० तारिखसम्म लागू गर्ने सरकारले निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकले जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
दिल्लीका वातावरण मन्त्री गोपाल रायले उत्तर प्रदेश र केन्द्रीय सरकारलाई दिपावली र छठमा पड्काइने पटाकाहरूमा प्रतिबन्ध लगाउन माग गरिएको जानकारी दिए । दिल्लीमा भने सरकारले पटाकामा प्रतिबन्ध लगाएको छ । रायले प्रतिबन्ध लगाउँदा पनि धेरै ठाउँमा पटाका पड्काउने क्रम जारिरहेको उल्लेख गर्दै रोकथामका लागि प्रहरी टोलीलाई सतर्क रहन निर्देशन दिइएको बताए ।
भविष्यमा पटाकाको सन्दर्भमा उत्तर प्रदेश, हरियाणा र केन्द्रीय सरकारले रोक लगाए प्रदूषणको अवस्थालाई भयावह हुनबाट रोक्न सकिने दिल्ली सरकारको भनाइ छ ।
वातावरणमन्त्री रायले भने, ‘दिल्लीमा प्रदूषणको स्तर बढ्न सक्छ । यसैलाई ध्यानमा राख्दै दिपावलीको भोलिपल्ट १३ देखि २० नोभेम्बरसम्म दिल्लीमा गुड्ने सवारी साधनलाई जोरबिजोर सूत्र लागू गरिने छ । एक सातासम्म प्रदूषणको अवस्थाको समीक्षा गरेर थप निर्णय गर्छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology