वेबटिभी खबर
काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक मंगलबार साँझ बस्ने भएको छ । १० औं महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरूको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्ने भएको हो ।
आइतबार बसेको एमालेको स्थायी कमिटीको बैठकले १६ असार (बुधबार) १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपालसहित यसअघि निष्काशनमा परेका नेताहरु सहभागी नहुने भएका छन् ।
महाधिवेशन आयोजजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने तयारी गरेको छ । बुधबार बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले केही दिनभित्रै केन्द्रीय कमिटीको बैठक बोलाउने एमाले स्रोतले जानकारी दिएको छ ।
केन्द्रीय कमिटी बैठक बसेपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुने छन् । २७ जेठमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीले कुनै पनि कार्यकारी कामकारबाही गर्न नपाउने आदेश दिएपछि र वरिष्ठ नेता माधव नेपालले पार्टीलाई २ जेठ ०७५ मा फर्काउन माग राखेको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक आह्वान गर्न लागिएको हो ।
महाधिवेशन आयोजक कमिटी भंग भएपछि बस्ने केन्द्रीय कमिटी बैठकमा नेपाल वरिष्ठ नेताकै हैसियतमा सहभागी हुन सक्ने एमाले संस्थापनको दाबी छ । एमालेको नवौं महाधिवेशनबाट चुनिएका सदस्यलाई मान्यता दिँदै पार्टी २ जेठ मा फर्किएपछि एमालेको पदाधिकारी र स्थायी कमिटीमा दुवै पक्षको उपस्थिति बराबर हुनेछ ।
१० जेठमा स्थायी कमिटले निष्काशन गरेका वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनालसहित ११ जनाको पद पनि जोगिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij