वेबटिभी खबर
केप टाउन । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमालाई संवैधानिक अदालतले १५ महिनाको जेल सजाय सुनाएको छ । उक्त संवैधानिक अदालतले मानहानीको मुद्दामा जुमालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
जुमा राष्ट्रपति भएको समयमा भ्रष्टाचारको मुद्दाका कारण एक जाँचबुझ आयोग समक्ष उपस्थित हुनु पर्ने थियो । अदालतको आदेशका बावजुद पनि उनी त्यहाँ उपस्थित भएका थिएनन् । सन् २०१९ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो ।
पदमा रहँदा उनले भ्रष्टाचारका धेरै आरोपहरूको सामना गरे । त्यसबेला केही व्यापारिक घरानाका राजनीतिज्ञसँगको साँठगाँठका कारण राष्ट्रपति जुमाको निर्णय प्रक्रिया प्रभावित भइरहेको आरोप लागेको थियो । यद्यपि पूर्व राष्ट्रपति एकपटक जाँच आयोग समक्ष पेश भएका थिए तर पछि उपस्थित हुन अस्वीकार गरे ।
जाँचबुझ आयोगका अध्यक्ष रेमन्ड जोन्डोले संवैधानिक अदालतलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । जुमालाई अहिले पक्राउ गरिन्छ कि गरिँदैन स्पष्ट छैन । नब्बेको दशकमा छ अर्ब डलर हतियार खरीदमा भ्रष्टाचार गरेको आरोप जुमामाथि लागेको थियो । उनले गत महिना आफैंलाई निर्दोष रहेको बताएका थिए ।
ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचार मुद्दामा सफाइ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij