ब्राजिल । ब्राजिलकाे सर्वोच्च अदालतका एक न्यायाधीशले सोमबार पूर्व वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाविरुद्धको फौजदारी अभियोग रद्द गरेका छन् । अदालतको यस फैसलापछि लोकप्रिय राजनीतिज्ञलाई सन् २०२२ को राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्ने बाटो खुलेको छ । लुलालाई सन् २०१९ मा १८ महिलाको कैद सजायपछि रिहा गरिएको थियो । रिहा भए पनि उनलाई आजीवन सार्वजनिक पदमा उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो ।
न्यायाधीश एडसन फचिनले दक्षिणी शहर कुरिटिबाको अदालतमा लुलालाई भ्रष्टाचारको आरोपमा मुद्दा हाल्ने अधिकार नभएको र राजधानी ब्राजिलियाको संघीय अदालतमा उनीविरुद्ध लागेका मुद्दाको सुनुवाई हुने फैसला गरेका छन् । अदालतमा आरोपहरु प्रमाणित नभएसम्म उनलाई राजनीतिक अधिकार हुनेछ ।
उनी सन् २०१७ मा ‘अपरेशन कार वास’ नामक भ्रष्टाचार तथा मनी लन्ड्रिङको काण्डमा अन्य नेतासहित दोषी ठहरिएका थिए । तर न्यायाधीश एडसन फचिनले लुलाविरुद्धका यी सबै आरोपहरुमा सफाइ दिएका छन् । सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुला आगामी निर्वाचनमा वर्तमान राष्ट्रपति जयर बोल्सोनारोविरुद्ध चुनाव लड्न सक्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij