Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गैँडा मारेको घटना छानविन गर्न समिति गठन

गैँडा मारेको घटना छानविन गर्न समिति गठन

  • 187
    SHARES
  • गैँडा मारेको घटना छानविन गर्न समिति गठन

    चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

    मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन् ।

    उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताए । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उनले बताए ।

    आवश्यक प्रमाण संकलन गरी भएका कमी-कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ । राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिंगे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो ।

    गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन  र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ ।

    उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानविनको माग गरिएको थियो । नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न माग गरेको थियो ।

    संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानविनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र नेपालभर सात सय ५२ गैँडा छन् ।

  • सम्बन्धित विषय:

  • # गैंडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij