वेबटिभी खबर
चितवन । नारायणी नदी किनारमा मोटरबोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । दसैँ तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो ।
नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना निर्माण गरिएपछि यहाँ घुम्न आउने र मोटरबोट चढ्नेको सङ्ख्या बढेको भरतपुर महानगरपालिका–१ का वडा सदस्य मनोज घिमिरेले जानकारी दिए ।
उनले महानगरपालिकाले नदी किनार क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन । मोटरबोट कम्पनीले विभिन्न ‘प्याकेज’मा सेवा दिइरहेका छन ।
नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात उद्यान र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन ।
एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ ।
त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इञ्जिनदेखि दुईसय एचपीको इञ्जिनसम्मका बोट रहेको मोटरबोट सञ्चालक समितिका अध्यक्ष अशेष मल्लले जानकारी दिए ।
२०७२ मा कालीखोलादेखि गोलाघाटसम्म बोटिङ सञ्चालन गर्न नारायणी किनारको अध्ययन गरिएको थियो । कालीखोलादेखि सानो गढीसम्मका लागि बोटिङ सञ्चालन गर्न आफूहरुले अनुमति पाएको व्यवसायी विजयचन्द्र अधिकारीले बताए ।
२०७५ बाट आफ्नो कम्पनीले नारायणीमा बोट सञ्चालन गर्दै आएको बताउँदै अधिकारीले भने, ‘सुरुवाती चरणमा कोरोनाका कारण व्यवसाय राम्रो नभए पनि गत वर्ष र यस वर्ष मोटरबोट चढ्ने पर्यटक बढेका छन् ।’ चाडपर्वको समयमा नारायणीमा दैनिक पाँच हजार जनासम्मले बोटिङ गर्ने गरेको उनले जानकारी दिए ।
व्यवसायी अधिकारीका अनुसार बिदाको दिनमा घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको छ । नारायणी नदी नेपालको मध्यभागमा पर्ने भएकोले यहाँ पछिल्लो समय पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएको व्यवसायी गोविन्द श्रेष्ठले जानकारी दिए ।
उनले पर्यटकको घुम्ने समय बढाउन थप प्याकेज र सुविधा ल्याउनुपर्ने बताए । पहिलोपटक नारायणी किनारमा बोटिङ गर्दा निकै रमाइलो भए पनि समय निकै कम भएको हेटौँडाबाट आएका विष्णु कालाखेतीले बताए ।
उनले परिवारसँग आउँदा प्याकेजको व्यवस्था र मोटरबोटका लागि तिरेको शुल्क अनुसार समय बढाउनुपर्ने जनाए । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् ।
यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij