वेबटिभी खबर
ओट्वा । क्यानडामा अत्यधिक गर्मीका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ । प्रहरीले भ्यानकुभर क्षेत्रमा शुक्रबार यता १ सय ३० भन्दा बढी व्यक्तिको आकस्मिक मृत्यु भएको बताएको छ ।
ब्रिटिश कोलम्बियास्थित लिटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमबार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो । क्यानडामा यसअघि कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन ।
प्रहरीका अनुसार भ्यानकुभर सहरमा मात्र गर्मीका कारण ६५ जनाको मृत्यु भएको छ । बर्नबेको आवासीय क्षेत्रमा ३४ जना र सरे क्षेत्रमा ३८ जनाको अचानक मृत्यु रेकर्ड गरिएको छ । ‘भ्यान्कुभरले यस्तो तापक्रमको महसुस कहिल्यै गरेको थिएन र दुःखको कुरा दर्जनौं मानिस यसैका कारण मर्दैछन्, हामी सकेसम्म सुरक्षित राख्ने प्रयासमा छाैं’ प्रहरी सर्जेन्ट स्टीव एडिसनले भने ।
गर्मीबाट अधिकांश ज्येष्ठ नागरिक र जटिल स्वास्थ्य अवस्था भएका व्यक्तिहरू बढी प्रभावित भएका छन् ।
भ्यान्कुभरको करिब २५० किलोमिटर पूर्वको लिटनका मेघान फान्ड्रिचले घरबाहिर निस्किनु लगभग असम्भव भएको बताइन् । ‘यो सहन नसकिने छ’, उनले ग्लोब एन्ड मेल अखबारलाई बताइन्, ‘हामी सकेसम्म घरभित्रै बस्ने कोशिस गरिरहेका छौं । मलाई लाग्छ हामी गर्मीसँग अभ्यस्त छौं तर यो सुख्खा गर्मी हो । ३० भन्दा ४७ डिग्री सेल्सियस धेरै नै फरक गर्मी हो ।’
ब्रिटिश कोलम्बियाका धेरै घरहरूमा एयर कन्डिसनर छैन, त्यहाँ अहिलेसम्मका गर्मी महिनाहरुमा तापक्रम सामान्य हुन्थ्यो । भ्यान्कुभर क्षेत्रमा अस्थायी कुलिङ सेन्टर र वाटर फाउन्टेन खोलिएका छन् । आपतकालीन फोन सेवा ९११ मा फोन गर्नेहरुको संख्या अत्यधिक भएपछि प्रभावित सहरमा धेरै अधिकारीहरु परिचालन गरिएको छ । वातावरण विभाग क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया, अल्बेर्टासहित सास्काचेवान, उत्तर पश्चिमी क्षेत्र र मनिटोबाका क्षेत्रलाई चेतावनीसहितको सूचना जारी गरेको छ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण हिटवेभजस्ता चरम मौसमी घटनाहरूको आवृत्ति बढाउने अपेक्षा गरिएको छ । यद्यपि कुनै एक घटनालाई मात्र ग्लोबल वार्मिंगसँग जोड्नु भने जटिल छ ।
अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij