वेबटिभी खबर
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशनमा ल्याउने भएको छ ।
विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको संकलन गरेर प्रकाशनमा ल्याउन लागेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा.हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा संकलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताए ।
‘सौका, भोटे, राउटे, मगर र रानाथारु, डगौराथारुका लोककथा संकलन गरेर प्रकाशनको चरणमा छन्’, निर्देशक डा.भट्टले भने, ‘हामीले सबै कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।’
निर्देशक भट्टले रानाथारुको लोककथा रानाथारु भाषामा, मगरका कथा मगरका भाषामा प्रकाशन हुने जनाए । ‘दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपालीमा प्रकाशन हुनेछन्’, डा.निर्देशक भट्टले भने, ‘हाम्रो धर्म संस्कृति रितिरिवाज हिजो कस्तो थियो कथाका माध्यमबाट जानकारी मिल्छ ।’ विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको निर्देशक भट्टले जानकारी दिए ।
साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा संकलन अत्यन्तै सकारात्मक कार्य भएको बताए । ‘लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाइ चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति निहित हुन्छन्’, साहित्यकार लेखकले भने, ‘यसबाट लोक जीवन बुझ्न सहज हुन्छ ।’
यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्यले यस क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने साहित्यकार कविराज भट्टले बताए । ‘यसले लोक साहित्यको संरक्षण एवम् प्रवर्द्धनमा टेवा पुग्छ’, साहित्यकार भट्टले भने, ‘मौखिकरुपमा रहेको साहित्य लिखितरुपमा आएपछि यसपछि अध्ययन अनुसन्धान गर्नेलाई पनि सहज हुन्छ ।’
सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धान तीव्र पारेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij