वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बसेर केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएसँगै माओवादी केन्द्रसँग एकताअघिका सबै कमिटी ब्युँतिने भएका छन् ।
२७ जेठमा सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीलाई कुनै पनि कामकारबाही गर्ने आधार नरहेको फैसला गरेको र पार्टीबाट निष्काशित वरिष्ठ नेता माधव नेपालले पनि पार्टीलाई २ जेठ ०७५ मा फर्काउनुपर्ने अडान राखेपछि संस्थापन पक्षले सबै कमिटी ब्युँताउने निर्णय गरेको हो ।
२३ फागुन ०७७ मा सर्वोच्चको फैसलापछि नेकपाबाट माओवादी र एमाले ब्युँतिदा पूर्वमाओवादीबाट एमालेमा रहेका चार नेता एमालेको स्थायी कमिटीमा समाहित गरेको छ । बुधबारको बैठकले पूर्वमाओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी समिति सदस्य मनोनीत गरेको हो ।
यसैगरी नेपाल पक्षका बेदुराम भुसाल र रघुजी पन्त पनि स्थायी कमिटी सदस्य बनेका छन् । संस्थापन पक्षबाट रघुवीर महासेठ, विष्णु रिमाल पनि स्थायी कमिटी सदस्य बनेका छन् । भुसालले सोमबार बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गर्दै पत्र पठाएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij