वेबटिभी खबर
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन ।
स्वास्थ्य, सरसफाई र स्थानीय खाद्यान्नको प्रवर्द्धन गर्न आयात गरिएको खाजा (जंक फुड)लाई प्रतिबन्ध लगाइएको हो । प्रधानाध्यापक रुपेश सुवेदीका स्थानीय उत्पादनबाट हरेक दिन फरक-फरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेका छन ।
‘जंक फुडले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर परेको थियो’, प्रधानाध्यापक सुवेदीले भने, ‘अभिभावक भेलाबाट आइतबारदेखि बिहीबारसम्म खाने खाजाको तालिकानै बनाएका छौँ । खर्चको पनि बचत भएको छ ।’
आइतबार तरकारी रोटी, सोमबार जाउलो, मंगलबार आलु पराठा, बुधबार तरकारी र अण्डा तथा बिहीबार चिया रोटी खाजा खाने तालिका बनाइएको छ । विद्यालयको चमेना गृहले तालिकाअनुसार खाजा बनाएर वितरण गर्ने गरेको छ ।
सरकारले प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराएपछि सहज भएको अभिभावकले बताएका छन । शिक्षकले पनि मकै, भटमास, कोदो, गहुँको पिठोको रोटी तथा आलुको परिकार बनाएर खाजा खाने गरेका छन ।
शिक्षक विद्यार्थी कोहीले पनि अहिले खाजा किनेर खाने गरेका छैनन् । धौलागिरि माविमा हाल एक सय १२ विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्र २०७९ देखि कक्षा ९ को पठनपाठन सुरु गरेको उक्त विद्यालयको कक्षा ६ देखि १० निजी स्रोतमा सञ्चालित छ ।
तीन शिक्षकलाई समुदायस्तरबाट मासिक ६० हजार जुटाएर तलब भत्ता खुवाउने गरिएको प्रअ सुवेदीले बताए । प्रावि तहमा पाँच शिक्षक, एक कार्यालय सहयोगी र बाल शिक्षा सहयोगी कार्यकर्ता दरबन्दीका हुन । गाउँपालिकाले शिक्षण सहायता अनुदानबाट तीन शिक्षक उपलब्ध गराएको छ ।
कक्षा १० का १८ विद्यार्थीलाई एसइई परीक्षाका लागि छात्रावासमा राखिएको छ । विद्यालय परिसरमा १६ सिसीटिभी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij