वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीले बहस गर्दै छन् । प्रधानमन्त्री तर्फका कानुन व्यावसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् ।
शुक्रवार वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०-१० मिनेट बहस गर्ने तय भएको छ । प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सबैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ ।
प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीको बहस सुरु हुनेछ । सभामुख सापकोटाकोतर्फबाट बहसका लागि सरकार पक्षलाई दिएको समयबाट १ घण्टा र अर्को आधा घण्टा संवैधानिक इजलासले थप गर्नेगरी समय छुट्याइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij