Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

जलकुम्भीले टरूवा तालको सौन्दर्य गुम्दै

जलकुम्भीले टरूवा तालको सौन्दर्य गुम्दै

  • 344
    SHARES
  • जलकुम्भीले टरूवा तालको सौन्दर्य गुम्दै

    नवलपरासी । नवलपुरको कावासोतीस्थित टरूवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको छ ।

    जसका कारण तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी  झारले ढाकेर संकटमा पर्न थालेको छ ।

    कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए ।

    उनले भने, ‘स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो ।’

    करिब तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरूवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । ताललाई जलकुम्भी  झारले ढाकेर अस्तित्व नै संकटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

    तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुेने पनि खास काम नभएको उनले बताए । उनले भने, ‘पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत  ल्याएर अलि अलि काम गरेथे, पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो ।’

    ‘टरूवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो, स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो,’ स्थानीय केशकुमारी महतोले भनिन् ।

    ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने उनले बताइन् । पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा  रहेको टरूवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ ।

    कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ ।

    अन्य पानीको कुनै स्रोत नभएको र टरूवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गथ्र्यो ।

    पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि  पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत  महत्व बोकेको ताल हिजोआज आफैँ संकटमा परेको छ ।

    तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए ।

    उनले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्ने बताइन् ।

    ताललाई जलकुम्भी  झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताए ।

    वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उनको भनाइ छ ।

    ताल आफैँमा महत्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भइरहेको उनको भनाइ छ ।

    कावासोती नगरपालिकाले टरूवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यस वर्ष  ५० लाख विनियोजन गरेको वडाअध्यक्ष महतोले जानकारी दिए ।

    उनले भने, ‘टरूवा ताल संरक्षणका विषयमा छलफल र बहसहरू चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्ने रहेछ, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला ।

  • सम्बन्धित विषय:

  • # सौन्दर्य

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij