मुकेश झा
हरिपूर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले तलब नपाएपछि कार्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् ।
नगरपालिकाले आथिर्क बर्ष २०८०।०८१ को लागि बजेट ल्याउन नसक्दा कार्यरत विभिन्न शाखाका २०० जना कर्मचारीले आर्थिक संकटमा परेको भन्दै यही माघ २८ गतेदेखी आकस्मिक काम बाहेक सम्पुर्ण शाखा, स्वास्थ्यचौकी,आर्युवेद शाखा,वडा कार्यालय सहतिका शाखाहरु अनिश्चित कालका लागी बन्द गरेको घोषणापत्र संयुक्तरूपमा नगरप्रमुख विनोदकुमार साह तथा जिल्ला प्रशासन प्रमुख (सिडियो)लाई बुझाएका छन् ।
चालु आवको सुरुवात साउन महिनादेखि नै कर्मचारीहरूले पारिश्रमिक पाएका छैनन् । तलब नपाएकाले खान लाउन धौ-धौ परेको प्रशासकीय अधिकृत कुमार परियारले बताए ।
धादिङ जिल्ला स्थायी ठेगाना भई हरिपूर्वा नगरपालिकामा करिब ४ बर्षदेखि प्रशासकीय अधिकृत पदमा कार्यरत परियार ७ महिनादेखि तलब नपाउँदा उधारोमा पसलबाट किराना समानहरू खरिद गरि बस्न बाध्य भएको बताउँछन् । हाल नगरपालिकामा १५ जना भन्दा बढि कर्मचारी अन्यत्र जिल्ला घर भई विभिन्न पदमा कार्यरत छन् ।
नगरपालिकाको विभिन्न शाखाहरू,वडा कार्यालयहरूमा काम गर्न चाहिने मसलन्द समाग्रीको समेत अभाव भएकोले बाध्य भएर वडा कार्यालय बन्द गर्नुपर्ने वडानम्बर ६ का वडा सचिव विश्वनाथ यादवले जानकारी दिए ।
यादवका अनुसार सेवाग्राहीको सिफारीस,जन्मदर्ता,मृत्युदर्ता,मालपोत रसिद सहितका आवश्यक कामका लागी चाहिने कागजात पनि वडामा छैन ।
नगरपालिकाको जिन्सी (स्टोर)मा समेत नहुँदा सधै जनतासँग गाली खानु परिरहेको गुनासाे उनले गरे । स्थानीय निर्वाचन २०७९ पश्चात हरिपूर्वा नगरपालिकामा मेयर विनोदकुमार साह र खानेपानीमन्त्री महेन्द्र यादवबीच आफूलाई बलियो देखाउने लडाई चलिरहेको छ ।
नगर प्रमुख साहले संघीय तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतलाई सरूवा गराएर ल्याउने र मन्त्री यादवले १ घण्टा,१ दिन,१ महिनामा मन्त्रालयमा तान्ने काम गरिरहेकाले प्रमुख प्रशासकीय अधिकृतको पद विगत ९ महिनादेखि खालिरहेको कारण नगरपालिकाको नगरसभासमेत हुन सकेको छैन ।
केही दिनअघि मात्रै नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयको शिक्षकहरूले तलब भत्ताको माग राख्दै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेको थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij