Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

  • 207
    SHARES
  • ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

    टीकापुर । ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ । ७५ वर्ष उमेर लागेकी उनलाई ग्याष्ट्रिकको समस्याले सताएको छ । यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहेकाे उनी बताउँछिन् ।

    उनले भनिन्, ‘चिसोमा पनि दमले सताउने, गर्मीमा पनि गाह्रो हुने गर्छ । खानपानमा निकै ध्यान दिनुपर्छ । शरीर कमजोर हुँदै गएको छ । स्वास्थ्यमा पनि विभिन्न समस्या देखिने गरेका छन् ।’ कैलालीकै कृष्णादेवी सञ्याजललाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी समस्याले सताउने गरेको छ ।

    ‘नियमित औषधि खान्छु, दीर्घरोगले सतायो’, उनले भनिन्, ‘बुढेसकालमा हाम्रो स्याहारसुसार गर्न परिवारलाई पनि समस्या हुने गरेको छ ।’

    उमेर ढल्कदै जाँदा मानिस शारीरिक रुपमा कमजोर हुँदै जान्छ । शारीरिक कमजोरी र उचित स्याहारसुसारको कमी र खानपान असन्तुलनले बुढेसकालमा विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्दछन् । उनीहूरू बुढेसकालमा ज्येष्ठ नागरिकलाई उचित स्याहार र परिवारको माया चाहिने बताउँछन् ।

    अर्का ज्येष्ठ नागरिक शिव गौचनलाई पनि विभिन्न खाले रोगले सताएको छ । नियमित औषधि खानुपर्ने समस्या रहेको उनको भनाइ छ ।

    ‘शरीरमा कहिल्यै आराम छैन, औषधिको सहारामा ज्यान बाचेको छ ’ उनले भने, ‘शरीरमात्र होइन मन पनि उमेर ढल्कदै जाँदा कमजोर हुने रहेछ ।’

    टीकापुरकै मनबहादुर रावललाई पनि उच्च रक्तचापको समस्या रहेकाले नियमित औषधि सेवन गरिरहेका छन् । उनले सरकारले भत्ता उपलब्ध गराएर राम्रो गरिरहेको बताए ।

    उनले भने, ‘म जस्ता नागरिकलाई सरकारले भत्ता उपलब्ध गराएर राम्रो काम गरेको छ । त्यही भत्ताले आफ्नो खर्च चलाउन पुगेको छ । सरकारले स्वास्थ्य बीमा गरिदिएर औषधि उपचारमा सहज भएको छ ।’

    मोती ढोली पनि विभिन्न खाले स्वास्थ्य समस्याबाट ग्रसित छिन् । छोरा बुहारी भारतमा भएकाले उहाँलाई कामकाजमा समस्या हुने गरेको छ । असी वर्ष पुग्न थालेकी धना ढुंगानालाई मधुमेहका कारण बढी समस्या हुने गरेको छ । उमेर ढल्केसँगै हातखुट्टा दुख्नेलगायतका समस्याले सताएको छ ।

    टीकापुरकै गजमति थारु पनि नियमित औषधि खान्छन् । गजमतिले घरमा सबै काम गर्नुहुन्छ । कृपाराम सञ्जाललाई उच्च रक्तचापले असर गर्दा राम्ररी बोल्न समस्या हुने गरेको छ ।

    दुई वर्षदेखि उनको स्वास्थ्यमा समस्या छ । छोराहरु रोजगारीका सिलसिलामा अन्य मुलुक रहेकाले बूढाबूढी मात्र बसिरहेका उनले बताए ।

    ज्येष्ठ नागरिक अधिकांश दीर्घरोगको समस्या झेलिरहेका छन् । यस्तो बेलामा स्थानीय सरकारले उनीहरुको उपचार सहजताका लागि ज्येष्ठ नागरिक शिविर, स्वास्थ्य बीमाजस्ता कार्यक्रम गरिरहेको छ ।

    टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल पालिकाले नसर्ने जटिल रोग भएका ज्येष्ठ नागरिकलाई उपचार खर्चमा समेत सहयोग गरिरहेको बताए ।

    उनले भने, ‘हामी ज्येष्ठ नागरिकका समस्यामा गम्भीर छौँ । हामीले उनीहरुलाई उपचारमा प्राथमिकता दिने गरेका छौँ । ज्येष्ठ नागरिकको मनोसामाजिक अवस्था बुझेर परिवारले स्याहार गर्न आवश्यक छ ।’

    टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ६८ वर्षमाथिका चार हजार ६२१ र ६० वर्षमाथिका ज्येष्ठ नागरिक दलित ७४० जना छन् । ज्येष्ठ नागरिक एकल महिला ६० वर्षमाथिका ६२७ जना छन् ।

    ज्येष्ठ नागरिकलाई उपचार र स्याहार मात्र होइन मनोसामाजिक रुपमा बलियो महसुस गराउन, उनीहरुलाई सामाजिक तथा व्यक्तिगत काममा सक्रिय बनाउने प्रयास हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवा सरोज रेग्मीले बताए ।

    उनले भने, ‘हामीजस्ता उमेर ढल्केकालाई पनि दैनिकी जीवनमा सक्रिय राख्नुपर्छ, जसका लागि परिवार महत्वपूर्ण हुन्छ । म सामाजिक काममा सक्रिय छु । यसले मानिसलाई ऊर्जावान् बनाउँछ । मनमा उत्साह भएमा बुढ्यौलीले पनि हार्छ । मानिसले काम गरिरहेमा शरीर पनि फुर्तिलो हुन्छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij