वेबटिभी खबर
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकताले संघीयता टिक्न नसक्ने बताए ।
१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा संयुक्त रूपमा आयोजित सम्पादक/वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा उनले संघीय व्यवस्था आएपनि केन्द्रीकृत मानसिकता अझै हट्न नसकेको बताए ।
आफू मुख्यमन्त्री भएपछि पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीको भेलाका साथै राष्ट्रिय परिषद्को भेला समेत भएको बताउँदै उनले उक्त क्रममा संघीयतालाई बलियो बनाउन प्रधानमन्त्रीसँग विभिन्न प्रस्ताव गरिएको बताए ।
राजनीतिक नेतृत्व सत्ताका लागि मात्रै लागेको भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले हाम्रा गतिविधिले नै व्यवस्थाका विरुद्धमा लाग्नेका लागि मलजल पुगेको बताए ।
राजनीतिक अस्थिरता हामीले नै निम्त्याएको बताउँदै उनले हाम्रै गतिविधिले राजनीतिलाई विकृत बनाइरहेको उल्लेख गरे । गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना तयार गर्ने क्रममा लागि रहेको उनले जानकारी दिए ।
गण्डकी प्रदेशका ८५ पालिकामध्ये मनाङको नार्पाभूमि बाहेक सबैमा बाटो पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्ला समयमा बाटो, पानी लगायतका सुविधाहरू पुगेपछि वस्तीहरू उजाड बन्दै गएको बताए ।
जग्गाजमिन बाँझो र स्थानान्तरण उच्च गतिमा रहेको उल्लेख गर्दै उनले यसलाई रोक्नु अहिलेको चुनौती रहेको धारणा राखे ।गाउँघरमा नै आर्थिक गतिविधि बढाउन सक्नुका साथै रोजगारी सृजना गर्न सकेमा स्थानान्तरण रोक्न सकिने उनको भनाइ छ ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले प्रदेशमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका कामहरू भइरहेको बताए ।
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोचका साथ उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्य राख्दै प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु, विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु, विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु जस्ता उद्देश्य यस योजनामा राखिएको उनले बताए ।
योजना निर्माणका लागि सम्बद्ध सबै निकाय र क्षेत्रसँग छलफल एवं अन्तरक्रिया गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा विभिन्न वरिष्ठ सञ्चारकर्मीहरूले गण्डकी प्रदेशमा बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा, प्रदेशको विद्यमान अवस्था लगायतमा जिज्ञाशा राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij