Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विपद्जन्य घटना न्यूनीकरणमा जोड

विपद्जन्य घटना न्यूनीकरणमा जोड

  • 189
    SHARES
  • विपद्जन्य घटना न्यूनीकरणमा जोड

    कञ्चनपुर । दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चमा आबद्ध पालिकाका प्रमुखहरू जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्जन्य घटना न्यूनीकरण गर्नका लागि सहमत भएका छन् ।

    आज शुक्लाफाँटा नगरपालिकामा आयोजित मञ्चको बैठकमा सहभागीहरुले विपद्बाट हुने धनजन, जीविकोपार्जन, भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक, वातावरणीय क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्नका लागि रणनीतिक क्रियाकलापको पहिचान गरी आवधिक तथा वार्षिक योजना बनाई कार्यान्वयनमा ल्याउने भएका हुन् ।

    विपद् जोखिम रोकथाम, पूर्वतयारी, प्रतिकार्य एवं पुनः स्थापन तथा पुनः निर्माणको सुदृढीकरणसँगै उत्थानशीलता अभिवृद्धि गरी विद्यमान विपद् जोखिम न्यूनीकरण र जोखिम रोकथाम गर्ने रणनीतिक योजनाको मुख्य उद्देश्य रहेको मञ्चका अध्यक्ष एवं शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताए ।

    उनका अनुसार बैठकमा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको कार्यसञ्चालन मार्गदर्शन प्रस्तावनाको मस्यौदामाथि बृहत् छलफल भएको छ  । मार्गदर्शनको मस्यौदामा उल्लिखित मञ्च गठन, काम–कर्तव्य र अधिकार, मञ्चको बैठकसम्बन्धी व्यवस्था, आर्थिक व्यवस्थापनलगायत बारे छलफल गरी राय–सुझाव संकलन गर्ने कार्य गरिएको छ ।

    ‘मार्गदर्शनमा संकलित सुझावलाई समावेश गरी अर्को कैलालीको चुुरे गाउँपालिकामा जेठ अन्तिम हप्ता आयोजना हुने बैठकमा अन्तिम रुप दिई पारित गरिने छ,’ उनले भने, ‘योसँगै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउने कार्य हुन्छ ।’

    मञ्चका सदस्य एवं पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले पालिकाहरूले विपद्जन्य घटनासँग लड्नका लागि बजेटको व्यवस्था गरी प्रभाकारी रुपमा अगाडि बढ्नुपर्ने बताए । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष एवं पूर्वसुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले जलवायु परिवर्तनले गर्दा चुरे क्षेत्रमा पहिरो तराई क्षेत्रमा भूक्षय र डुबानको समस्या रहेको बताए ।

    चुरे क्षेत्रमा मानवीय गतिविधि बढेसँगै विपद्का घटनाहरू पछिल्ला केही वर्षयतादेखि उल्लेख्य रुपमा बढ्दै गएको चर्चा गर्नु हुँदै उनले नियन्त्रण गर्न अहिले चुनौती खडा भएको बताए ।

    ‘कर्णाली र महाकालीपछिको ठूलो जलाधार क्षेत्र दोदा रहेको छ,’ उनले भने, ‘पालिकाहरुको एक्लो प्रयासले विपद्जन्य घटना नियन्त्रण गर्न नसकिने भएकाले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै सरकारको सरोकारको विषय बनाइनुपर्छ ।’

    मञ्चका सचिव एवं लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जलाधार व्यवस्थापन योजनाहरु, भू–उपयोग नीतिहरूसँगै जलवायु अनुकूलन रणनीतिको विकास गर्नु आवश्यक रहेको बताए ।

    ‘विपद् जोखिम न्यूनीकरण गर्न व्यवस्थापनसम्बन्धी उपलब्धि, सिकाइ, चुनौती र आवश्यकता आपसमा आदान–प्रदान गर्न आधुनिक सञ्चार प्रविधिमार्फत भर्चुअल प्लेटफार्मको अधिकतम प्रयोग गरी अनवरत संवाद तथा सहकार्य गरिनुपर्छ,’ उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सरोकारवाला नियकासँगै क्षेत्रगत समूहबीच समन्वय सहकार्य, साझेदारी, ज्ञान प्रवद्र्धन, सीप विकासका कार्यक्रमलाई समयानुकूल बनाइनु पर्छ ।’

    मञ्चको साझेदार संस्था निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले दोदा जलाधार क्षेत्रको माथिल्लो र तल्लो तटीय क्षेत्रका साझेदारहरुले एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

    ‘यो क्षेत्रका दशवटै पालिकाले विपद्जन्य घटनाबाट स्थानीय बासिन्दालाई सुरक्षित बनाउनका लागि आवश्यक व्यवस्थापकीय कार्य गर्नुपर्छ,’ उनले भने, ‘मञ्चमा आबद्ध पालिकाहरुले संघीय सरकारलाई दोदाले निम्त्याउने विपद्बारे बुझाउन सक्नुपर्छ, यसका लागि एक्सन प्लान, कार्यविधि, कार्ययोजना बनाएर जीविकोपार्जनसँग जोड्नुपर्छ, वनमाथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिइनुपर्छ ।’

    बाढीजन्य घटना न्यूनीकरणका लागि माथिल्लो तटीय क्षेत्रबाट तल्लो तटीय क्षेत्रमा सूचना प्रवाहको कार्य भइरहेको उल्लेख गर्दै उनले यसलाई दिगो बनाउने कार्य गरिनुपर्ने बताए ।

    मञ्चको साझेदार संस्था मर्सिकोरका प्रतिनिधि लक्ष्मी अवस्थीले संस्थाले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत दोदा नदीमा जल सतह मापनका लागि स्वचालित उपकरण जडान गरिएको, दोदासँगै जोडिने नदीहरुमा पालिकासँग समन्वय गरी जैविक तटबन्ध निर्माण र जीविकोपाजर्नका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

    विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, आपत्कालीन मानवीय सहयोगलाई स्थानीय तहसम्म सुनिश्चित गर्न अन्तर्राष्ट्रिय लगानीलाई प्रोत्साहित गर्न सहकार्य र साझेदारीको कार्यलाई अभिवृद्धि गरिनुपर्ने बताए ।

    बैठकको औचित्यबारे मञ्चका कोषाध्यक्ष चुरे गाउँपालिकाका उपाध्यक्ष धनाकुमारी थापाले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । बैठकमा मञ्चमा आबद्ध दशवटा पालिकाका प्रमुख, उपप्रमुख, विपद् शाखाका स्रोत व्यक्ति, साझेदार संस्थाका प्रतिनिधिलगायत सहभागिता रहेको थियो ।

    मञ्चमा जोरायल गाउँपालिका, आलिताल गाउँपालिका, पर्शुराम नगरपालिका, चुरे गाउँपालिका, गोदावरी नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिका आबद्ध रहेका छन् ।

    विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनको दृष्टिकोणले अत्यन्तै संवेदनशील दोदा जलाधार क्षेत्र संरक्षण संवद्र्धन गर्न बहुसरोकार मञ्चको गठन गरिएको हो । मञ्चको उद्देश्यमा जलाधार क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न पारस्पारिक रुपमा सहकार्य समन्वय गर्नु रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij