Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

  • 191
    SHARES
  • हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

    तनहुँ । हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।

    यही जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो । विद्यालयका प्रधानाध्यापक रविचन्द्र वाग्लेले भीषण हुरीले दुवै भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको जानकारी दिए ।

    उनका अनुसार हुरीले विद्यालयको पाँचवटा कोठाको छाना उडाएको छ । प्रधानाध्यापक वाग्लेले भने, ‘अहिले हुरीले छाना नउडाएका तीन कोठामा नौवटा कक्षा सञ्चालन गर्न बाध्य भएका छौँ । एउटा कोठामा भने कार्यालय सञ्चालन गरिएको छ ।’

    छाना र गारो समेत भत्काउँदा चार लाखभन्दा बढीको क्षति भएको प्रधानाध्यापक वाग्लेले बताए । क्षतिको विवरण वडा कार्यालयलाई जानकारी गराइसकेको उनको भनाइ छ । वडा कार्यालयमा निवेदन दिने र व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखामा जानकारी गराइसकिएको छ ।

    उक्त विद्यालयको आधारभूत तहमा ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन । गर्मी अत्यधिक बढेकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा चौतारी र रूखमुनि राखेर पठनपाठन गराउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक वाग्लेले बताए । तत्काल विद्यालयको मर्मत गरी पठनपाठन सञ्चालन गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको उनले जानकारी दिए ।

    सोही दिन आएको हुरीले व्यास–९ माझफाँटस्थित माहेन्द्री मावि, व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माविलगायत विद्यालयमा क्षति पुर्‍याएको नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ । नगरपालिकाका विभिन्न विद्यालयमा क्षति पुर्‍याएकाले तथ्यांक संकलन भइरहेकाले हालसम्म यकिन विवरण आइनपुगेको शाखाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij