Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

वर्षासँगै बाढीको चिन्तामा कुतियाकबरवासी

वर्षासँगै बाढीको चिन्तामा कुतियाकबरवासी

  • 113
    SHARES
  • वर्षासँगै बाढीको चिन्तामा कुतियाकबरवासी

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडाजोगबूढा नदीवारी आफन्तकहाँ राखेका छन् ।

    लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् । ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ ।

    बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुंगा छन् । ‘बर्सात सुरु भइसक्यो । कुन बेला बाढी गाउँ पस्छ केही पत्तो हुँदैन । त्यसैले सक्दो पूर्वतयारी गरेका छौँ’, स्थानीय दानबहादुर मगर भने, ‘बर्सेनि बाढीले सताउँछ ।’

    कुतियाकबरमा ४२ परिवारको बसोबास छ । महाकाली नदी र जोगबूढा नदीले घेरिएका यहाँका स्थानीलाई बर्सात लागेसँगै बाढीको चिन्ताले पिरोल्न थालेको छ ।

    महाकाली नदीमा पक्की तटबन्धन नहुँदा बाढी सिधै बस्ती पस्ने गरेको स्थानीय वसन्ती सुनारले बताए । ‘जमिन कटान भएर बगरमा परिणत भइसक्यो । बाढीले अन्नपात सबै बगाएर लैजान्छ’, उनले भने, ‘यो बाढीको समस्याबाट हामीले कहिले मुक्ति पाउँला ? बर्सातमा कुन बेला के हुन्छ भनेर राम्रोसँग खान र सुत्न पाइँदैन ।’

    कुतियाकबर भारतसँग सीमा जोडिएको नेपाली बस्ती हो । बाढीको समस्या झेल्दै ज्यानको बाजी थापेर सीमामा नेपाली भूमिको जोगाएर बसेका कुतियाकबरवासीको पीडा सरकारले नसुनेको गुनासो छ ।

    बाढीले ज्यान जोगाउनै मुस्किल पर्ने गरेको स्थानीय टेकबहादुर सुनार बताए । ‘महाकालीमा पक्की तटबन्धन हुँदा केही हदसम्म कटान र बाढीको समस्या कम हुन्थ्यो । तर तटबन्धनको लागि बारम्बार माग गर्दा पनि हाम्रो पीडा कसैले सुनेको छैन’, उनले भने ।

    लामो समयदेखि सुरक्षित घरको माग गर्दै आएका यहाँका स्थानीयका लागि यसपटक दुई सुरक्षित घर निर्माण भएपछि स्थानीयलाई राहत भएको छ ।

    कुतियाकबरका स्थानीय बासिन्दा बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी नगरपालिका-७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए । 

    ‘बर्सात लाग्ने बित्तिकै डर त्रास हुन्छ । सेफ हाउस भएपछि बाढी आएका बस्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ज्यान जोगिने आशा जागेको छ’, स्थानीय मायादेवी सुनार भने, ‘खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सुरक्षित घरले ज्यान जोगिनेमा ढुक्क छौँ ।’

  • सम्बन्धित विषय:

  • # वर्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij